यसरी त कसरी आउला र बहुमत ?

यसरी त कसरी आउला र बहुमत ?

नेपालका कम्युनिष्टहरूले संसदीय निर्वाचन राम्रोसँग जितेको भनेको पहिलो संविधान सभा ०६४ मा नेकपा (माओवादी) ले र पछिल्लो निर्वाचनमा नेकपाले हो । पहिलोमा डर, त्रास, परिवर्तन र शान्तिको चाहनाले काम गरेको थियो जित्नुमा भने दोस्रोमा स्थायित्व र समृद्धिको चाहनाले ।

त्योभन्दा बाहेक कम्युनिष्ट पार्टीहरुले चुनाव लडेर मज्जासँग जितेका छैनन्, यो कुरा सत्य हो । यस्तो किन भयो त ? मुख्य कारण कम्युनिष्ट पार्टीहरु अझै पनि संस्थागत भैनसकेकाले नै हो । यसबारेमा बहस पनि गर्न सकिन्छ तर बहसभन्दा पनि यो कुरा एमालेले भित्रैदेखि आत्मसात गर्नुपर्छ । नेकपाको चुनावी जितलाई आफ्नो जित ठान्ने भूल गर्ने हो भने एमाले धेरै ठूलो ठक्कर खानबाट बच्न सम्भव देखिन्न ।

कुरा नम्बर दुई :

चुनाव जितिने दुईवटा मुख्य कुराहरु हुन्छन् र ती हुन् काम र अजेण्डा । सरकारमा रहेको बेला एमालेले के के गर्छु भन्यो र के के ग¥यो एक र आजको एमालेको अजेण्डा के हो, दुई । एमालेले चुनावका दौरान जनतासामु सुखी नेपाली, समृद्ध नेपाल बनाउँछु तथा देशमा स्थायित्व कायम गराउँछु भनेर बाचा गरेको थियो । सत्तासिन भएपछि सुखी नेपाली, समृद्ध नेपाल बनाउन केही कुराहरुलाई अघि सा¥यो पनि । ती कुराहरू थिए एक, पाइपबाट घरघरमा ग्याँस ।

दुई, तराईको त कुरै भएन, पर्वत, म्याग्दी, बाग्लुङसहित पहाड पहाडमा स्टेशन हुने चुच्चे रेल र तेस्रो थियो पानीजहाज तर यी बाचाकबोलहरु यो कार्यकालमा पूरा गर्न सकिने त कुरै थिएन, उस्तै परे सम्भाव्यता अध्ययन गर्न पनि समय अपुग हुन सक्थ्यो । जनजीविकाको सवाललाई कतै नछुने र सम्भावनाभन्दा धेरै टाढा रहेको यस्तो विषय अन्ततः हँसिमजाकको विषय बनेर बसेको छ । अब यो एमालेको हातमा पनि छैन ।

अबको अजेण्डा के त ? नेता, कार्यकर्ता र समर्थकले त जेनतेन भोट हाल्लान् तर अजेण्डा हेरेर भोट हाल्नेले के भनेर एमालेलाई उठाउने ? परमादेशको सुगा रटानले काम गर्दैन तटस्थ मतदातालाई । मतदाताले हेर्ने भनेको काम र अजेण्डा नै हो । आफूले गर्छु भनेको काम गर्न त सकेन नै, बरु ऊमाथि गम्भीर किसिमका भ्रष्टाचारका आरोपहरु लागेका छन् ।

वाइडबडी, ओम्नी, यति, सेक्युरिटी प्रिन्टिङ्ग मेसिन, बतास, बिजुली बस, मल र यस्तै यस्तै अनेक । काम र अजेण्डाको हिसाबले पनि एमालेले भोट पाउनसक्ने अवस्था देखिँदैन । परमादेशको सरकार, ठोरी या नक्सा राष्ट्रवाद नै यसको अजेण्डा हो कि जस्तो देखिन्छ । कोरोना र कुशासनको मारले थिल्थिलो परेका जनताले यस्तो भावनात्मक उत्तेजना भड्काउने र समाजमा विभाजन निम्त्याउने अजेण्डालाई समर्थन जनाउने छन् भन्ने सोच्न पनि सकिन्न, एमालेले सोचे भिन्दै कुरा । यस्तो अजेण्डा काम लाग्नेवाला छैन ।

कुरा नम्बर तीन :

जनताका कुरा जनतासामु प्रष्टसँग राख्नसक्ने, जनताले उठाउने हरेक सवालहरुको चित्तबुझ्दो र पत्यारिलो जवाफ दिनसक्ने र किन कम्युनिष्ट पार्टीले र त्यसकारण एमालेले नै जित्नुपर्छ भनेर कन्भिन्स गर्नसक्ने नेता–कार्यकर्ता चाहिन्छ । चुनावमा जनतालाई आकर्षित गर्ने एजेण्डा सेट गर्ने र उक्त एजेण्डामा सबैलाई हिँडाउन सक्ने ल्याकत भएको नेता र कार्यकर्ताको जरुरत हुन्छ । यस्तो ल्याकत भएको नेता कार्यकर्ताले नै हो पार्टीको अजेण्डालाई जनतासमक्ष पु¥याउने ।

भाषण गरेर मास उराल्न सक्ने क्षमता भएको नेता चाहिन्छ । युद्धमा शत्रुसेनाबाट पराजित भएको सैनिक कमाण्डरको जस्तो लो मोराल बोकेका मान्छेहरुको नेतृत्वमा चुनाव जित्न मुश्किल हुन्छ । अहिले एमालेको नेतृत्व तहमा जे–जति मान्छे पुगे, पु¥याइए, तिनीहरुमध्ये अधिकांशमा म एमालेका प्रतिनिधिहरुले विवेक प्रयोग गरी मतदान गरेर चुनिएको एक काबिल नेता हुँ भन्ने नैतिक साहस छैन । अधिकांश मानिस निर्वाचित नभएर वाचित पदाधिकारी हुन् ।

तिम्रो प्रजातान्त्रिक क्रेडेन्सियल खै भनेर जनताले सोधेको अवस्थामा गर्वले जवाफ दिनसक्ने अवस्था धेरैको छैन । बरु नेतृत्वमा पुग्न नसकेकाहरुमा त्यो नैतिकता उँचो रहेको देखिन्छ । यसरी जितेर पनि मोरालिटी गुमाएको नेतृत्वले जनतालाई कसरी मनाउन, बुझाउन सक्ला ? अर्को कुरा पनि छ, अहिले नेतृत्वमा पुगेका धेरै नेता चुनाव हार्दाखेरी पनि तिनीहरूलाई खासै फरक पर्ने देखिन्न ।

किनभने चुनाव हार्दैमा तिनले अभ्यास गर्दै आइरहेको शक्तिमा खासै कमी हुनेछैन र पार्टी सत्तामा पनि तिनीहरुको पकड यथावत नै रहिरहनेछ अन्यथा नहुञ्जेलसम्म । हारे पनि फरक नपर्ने यस्तो नेतृत्वले चुनाव जित्नका लागि एँडीको जोड लगाएर काम गर्ने छ भनेर भन्न सकिन्न ।

र, बिट मार्दा :

यही अवस्था रहिरहने हो भने आउने स्थानीय निकाय चुनावको परिणाम नै एमालेको अन्तिम दम हुने कुरामा शंका छैन । यो किनभने एमाले र एसमाजवादीलाई भोट हाल्ने जनता, समर्थक र कार्यकर्ताहरु हिजोसम्म एउटै परिवारका सदस्य थिए । माकेको कुरा छोडौं । जेठो दाजुको कारणले परिवारमा अशान्ति मच्चिएर दिक्क परेपछि अंश लिएर छुट्टी भिन्न हुन बाध्य अन्य भाइहरुको जस्तै पीडा छुट्टिनेतर्फ छ ।

दाइ नसुध्रिएसम्म उनको दैलो नकाट्ने अवस्थामा पुगेका अन्य सिधासाधा भाइहरुले रिस फेर्न पनि सहयोग नगर्ने कुरा जगजाहेर छ । एमालेले यो कुरा किन बुझ्न सकेको छैन भने एमाले संस्थागत हुन सकेको छैन, ऊ एड हक कमिटी जस्तो छ र ब्यक्तिको एकल क्षमतामा निर्भर छ जसलाई जनता क्षमता मान्न तयार छैन । कुरा बुझे लाख पाइन्छ भन्छन्, नबुझे सबै जान्छ । कुरा यही हो । र, लोक गीतको यो पंक्ति –

‘चुँडियो मायाको डोरी, रातमा पनि लाग्दैन निदरी,
रातो बरुको, म त मायाँको, होइन अरुको !’

टिप्पणीहरू