कसलाई जनादेश, कसलाई परमादेश

कसलाई जनादेश, कसलाई परमादेश

आफू ‘जनादेशको’ तर शेरबहादुर देउवा ‘परमादेशको’ ! माधवकुमार नेपालचाहिँ ‘अध्यादेश’ को ! अरुलाई विभिन्न संज्ञा दिनुहुने केपी ओली स्वयं पनि ‘उत्प्रेषणको’ पार्टी अध्यक्ष हुनुभएको तथ्यले पुष्टि गर्छ ।

यदि, ०७७ फागुन २३ मा उत्प्रेषणको प्राण नभरिएको हुन्थ्यो भने उहाँले गत वर्षको फागुन–चैतमै प्रधानमन्त्री पद गुमाइसकेको हुनुहुन्थ्यो । तर, शेरबहादुर र माधवहरुले उहाँमाथि आजसम्म कतै ‘उत्प्रेषण’ को बात लगाउनुभएको छैन ।

०७५ जेठ ३ मा उहाँले प्रचण्डसँग मिलेर सुटुक्क एमाले र माओवादी केन्द्रलाई कोमामा पु¥याएपछि कायम नेकपाको नाममाथि कम्युनिष्ट नेता ऋषि कट्टेलले आफ्नो दावी गर्दै ०७५ मंसिर २१ मा रिट दायर गर्नुभएको थियो । त्यसउपर ०७७ फागुन २३ मा कुमार रेग्मी र बमकुमार श्रीमानको इजलासले कट्टेलको पक्षमा फैसला सुनाउँदै एमाले र माओवादी केन्द्र ब्युँताउन आदेश दिएको थियो ।

सोहीअनुसार एमालेका रुपमा ओलीले प्राण पाउनुभयो । र, त्यसको चार दिनपछि, अर्थात् फागुन २७ मा माधव नेपालसहितका पदाधिकारी बर्खास्त गरेर आफ्नो राजनीतिक यात्रालाई एकल निर्णयानुसार अगाडि लैजान थाल्नुभयो ।

यदि सर्वोच्च अदालतले त्यस्तो आदेश नदिएको थियो भने नेकपाभित्र प्रष्ट अल्पमतमा परिसक्नुभएका उहाँ भर्खरै भंग गरिएको संसद विघटन बदरका कारण अन्योलग्रस्त आफ्ना समर्थकबीच कसरी पेश हुनुहुन्थ्यो होला ? योभन्दा गम्भीर कुरा, संसदीय कानुनबमोजिम दल विभाजन गर्न ४० प्रतिशत सांसद संख्या नपुग्दा उहाँ सूर्यचिह्नविहीन हुने स्थिति थियो । त्यो स्थितिबाट उहाँलाई बचाएकै फागुन २३ को ‘उत्प्रेषण’ ले हो ।

त्यसो त उहाँको विशेषता नै हो, आफ्नो जग जति कमजोर भए पनि अरुका छिद्रमात्रै केलाइरहने । अहिले पनि राष्ट्रियसभाको आसन्न निर्वाचनमा भएको ८ सीट गुमाएर पाउने सीट शून्य हुँदैछ । संसदीय राजनीति गर्ने दलका निम्ति माथिल्लो सदनबाट आठ जना माननीयको क्षति हुनु चानचुने घाटा होइन । तर, उहाँ आफ्नो चोटलाई लुकाएर अरुलाई चोट पु¥याउने बाणी दिन माहिर हुनुहुन्छ ।

अनि, नेपालको अदालत नै कस्तो भने, चाहिने कुरामा समयमा निर्णय दिँदैन । यस्तै–यस्तै बितण्डा मच्चिने कुरामा भने आदेश दिन हतारो चल्छ । ओली सरकारले संवैधानिक परिषद्को संरचना र निर्णय प्रक्रियालाई हेरफेर गर्ने अध्यादेश जारी ग¥यो र त्यस आधारमा विभिन्न संवैधानिक नियुक्तिहरु गरिए ।

त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको एक वर्ष भइसक्यो । तर, दायर भएको रिटमाथि हुने पहिलो कारवाही, अर्थात् कारण देखाऊ आदेशसम्म पनि जारी भएको छैन । अदालतका यिनै कार्यशैलीको कारण केपी ओलीलाई प्राणमात्र मिलेन, विपक्षीलाई लगाउने ‘बात’ पनि मिल्यो ।

सत्य हो कि, उहाँ आत्मबलयुक्त व्यक्ति हुनुहुन्छ । आफ्ना हजार कमजोरी, तनाव र वितृष्णालाई भित्रै गुम्साएर बाहिर अरुलाई भन्नसम्म भन्नुहुन्छ । अर्को उदाहरणीय विषय छ, मिर्गौला प्रत्यारोपणपछि उहाँले अपनाउनुभएको स्वअनुशासन । पार्टीका भएभरका नेतालाई तेस्रो लहरले ओछ्यान पु¥याएको छ । थापाथली हाइटस्थित पार्टी कार्यालय कोभिड संक्रमित बढ्नाले बन्द छ ।

तर, उहाँ सुरक्षित हुनुहुन्छ । यसको कारण हो, खानपिन नियन्त्रण, भेटघाटको सीमितता । पिए राजेश बज्राचार्यले खबर नगरेसम्म नखाने, पत्नी राधिकाले पकाएबाहेकका कुनै चिज नछुने बानी छ । अनि, भेटघाटमा पनि कडाइ गर्नुभएको छ । पुस २७ गते बिहान विष्णु पौडेल र अष्टलक्ष्मी शाक्यसँग मात्रै भेट्नुभयो ।

२८ गते दिउँसो रामबहादुर थापा (बादल) सँग दुई घण्टा कुरा गरेपछि अरुसँग भेट्नुभएन । एकैपल्ट ३० गते विष्णु रिमालसँग बिहानै भेट्नुभयो । माघ १ गते योगेश भट्टराईसँग बिहान पौने एक घण्टा भेटेपछि सबै भेटघाट बन्द गर्नुभयो ।

टिप्पणीहरू