एक तारे जर्नेललाई जिम्मा लाएर दुई तारे जर्साब हिँडे घरतिर

एक तारे जर्नेललाई जिम्मा लाएर दुई तारे जर्साब हिँडे घरतिर

नेपाली सेनाका उपरथी अनन्त कार्की आफ्नो जिम्मेवारी बुझाएर भर्खरै सैनिक जिम्मेवारीबाट बाहिरिएका छन् । सैनिक मुख्यालय पश्चिमको जैसिदेवल नजिकै रहेको सेन्ट्रल जेलको आडमा रहेको प्रस्तावित नेशनल डिफेन्स युनिभर्सिटी (एनडीयु) को अफिसबाट उनी निस्किएका हुन् ।

आफ्नो जिम्मेवारी कार्यालयका सहायक रथी भोला थापालाई हस्तान्तरण गरेपछि कार्की बिदामा बस्ने भन्दै भक्तपुर घरतिर लागेका छन् । बिहान मलिन अनुहार लिएर कार्यालय पुगेका कार्कीले एक शब्द पनि नबोलेर बुझबुझारथको फाइलमा सुईं सुईं हस्ताक्षर गरेको स्रोतले बताएको छ ।

अन्तमा ‘ल म हिँडे’ भनेका उनले बुझबुझारथको प्रक्रिया अवधिभर मुखमा मास्क लगाउँदै निन्याउरो अनुहार बनाएका थिए । ‘सँधै हाक्कहुक्क गर्ने जर्साब आज नुन खाएको कुखुरा जस्तो पो देखिनुभएको थियो,’ एनडीयुका एक जना सैनिकको मूल्यांकन हो यो ।

“आफ्नो जिम्मेवारी कार्यालयका सहायक रथी भोला थापालाई हस्तान्तरण गरेपछि कार्की बिदामा बस्ने भन्दै भक्तपुरको घरतिर लागेका छन् । कार्कीले एक शब्द पनि नबोलेर बुझबुझारथको फाइलमा सुईं सुईं हस्ताक्षर गरेको स्रोतले बताएको छ ।”

आफ्नो म्याद थप्न प्रधानमन्त्री कार्यालय र शीतल निवासमा समेत उजुर गरेपछि कार्की सर्वाधिक विवादमा तानिएका थिए । तर उनको म्याद नथप्ने निर्णय क्याबिनेटले एक साता अगावै गरेपछि उनी रनभुल्लमा परेका हुन् । कार्कीले प्रधान सेनापति प्रभुराम शर्माले आफूलाई म्याद नथप्न खोजेको भन्दै रक्षा मन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सेनाको परमाधिपति तथा राष्ट्रपतिसमक्ष उजुर गरेका थिए ।

क्याबिनेटले गत पुस ३० गतेको मितिमै कार्कीको म्याद नथप्ने निर्णय गरेको पत्र सैनिक मुख्यालयमा पुगेपछि उनी छानाबाट खसेझैँ भएका हुन् । कार्कीसँगै म्याद सकिन लागेका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको भने सैनिक मुख्यालयको सिफारिसबमोजिम थपिएको छ ।

कार्कीले पटक पटक सेनामा चेन अफ कमाण्ड उल्लंघन गरेका थिए । पूर्ववर्ती प्रधानसेनापतिको फेरो समाएर उनले धेरै वटा गलत कार्य गरेपछि अहिले म्याद नथप्न उनीविरुद्ध सबै लागेका हुन् । बहालरत उपरथी कार्कीले सेनाको प्रचलित मापदण्ड र अनुशासन उल्लंघन गरेर प्रधानसेनापतिविरुद्ध लिखित उजुरी नै हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो ।

सैनिक ऐनमा सैनिक अधिकृतहरुको म्याद थप्न गर्ने वा नगर्ने भन्ने अधिकार सेनापतिलाई मात्र छ । कार्कीले प्रधानमन्त्री गुहार्ने र मिडियामा गएर च्यालेञ्ज गरेपछि सैन्य नेतृत्व गम्भीर बनेर कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

तर, कारवाही भोग्न भन्दा घर जान ठीक भन्दै उनले प्रधान सेनापति शर्मासमक्ष गल्ती स्वीकारेपछि बुझबुझारथ गरेर बिदामा बस्ने,कतै उजुर नगर्ने सहमतिमा उनले आज कार्यालय पुगेर बुझबुझारथ गरेका हुन् ।

टिप्पणीहरू