ओलीको १५ बुँदे विज्ञप्तिमा सरकारमाथि आरोपै आरोप

ओलीको १५ बुँदे विज्ञप्तिमा सरकारमाथि आरोपै आरोप

प्रमुख प्रतिपक्ष नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाएको छ । सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाउँदै एमालेले मुलुकको अर्थतन्त्र धराशायी भएको दाबी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज १५ बुँदे विज्ञप्ति जारी गर्दै सरकारको असफलतासँगै पाँच दलीय गठबन्धन र सर्वोच्च अदालतमाथि पनि दर्जनौं प्रश्न उठाउनुभएको छ ।

‘सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको छ,’ एमाले अध्यक्ष ओलीले आज जारी गरेको १५ बुँदे वक्तब्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो वाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।’

अदालतले निश्चित व्यक्तिको स्वार्थपूर्तिका लागि राजनीतिक फैसला गरिदिने र त्यसवापत राजनीतिक नेताहरूले ‘गुन तिर्ने’ अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी क्रियाकलापको मूल्य मुलुकले चुकाउनु परेको ओलीको आरोप छ ।

‘न्यायालयमा चलेको चरम अराजकता र न्यायाधीशहरूको ‘हड्तालले संकटकालमा समेत रोक्न नमिल्ने बन्दीप्रत्यक्षीकरणलगायत जनताका मौलिक हक अवरुद्ध भएका छन्, न्यायका लागि वर्षौं प्रतीक्षा गरिरहेका नागरिकहरूलाई छिटो न्याय पाउने अधिकारबाट वञ्चित गरिएको छ,’ ओलीको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन दलहरू नै संवैधानिक र संसदीय बाटोबाट होइन, सडकबाटै न्यायाधीश फेर्ने जस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पंगु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् ।’

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/uml-1-converted.pdf-1.pdf”]

टिप्पणीहरू