सुर्खेतका सेना मान्छे जोगाउनमा सकृय

सुर्खेतका सेना मान्छे जोगाउनमा सकृय

उमेर विवादमा अदालत गुहार्दै रहेका पूर्व अपरेशन प्रमुख (डिजिएमओ) प्रेम शाही नेतृत्वको सुर्खेतस्थित सैन्री पश्चिम कमाण्डद्वारा सञ्चालित हवाई सेवाले सो क्षेत्रका धेरै सर्वसाधारणको ज्यान जोगाएको छ । पछिल्लो समय पश्चिम कमाण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा शुरु गरेपछि धेरैलाई अकालबाट जोगाएको हो ।

कमाण्डले कर्णाली,सुदूरपश्चिम र लुम्बिनीका दुई जिल्लामा हवाई सेवा उपलब्ध गराउँदै आएको हो । सुत्केरी तथा प्रकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई उक्त कमान्डअन्तर्गत हवाई सेवामार्फत उध्दार गरेर उपचारको निम्ति सुविधासम्पन्न ठाउँमा पुर्याउँदै आएको छ ।

सेनाले २०७६ भदौ १७ गतेदेखि वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उध्दार कार्यलाई प्रभावकारी बनाउन थालेको हो । शुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ भदौ १७ देखि सुर्खेतबाट नै तीन वटा प्रदेशमा हुँदै आएको छ ।

तीन वटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमाण्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके,बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर पश्चिम एअर बेसबाट उडान हुँदै आएको छ ।

उध्दारका लागि तीन वटा हेलिकप्टर र उडान दल सँधै तयारी हालतमा राखिएको पश्चिम कमाण्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले जानकारी दिनुभयो ।

यो वर्ष मात्र गर्भवती र सुत्केरी गरी हालसम्म ४८ जनाको उध्दार गरिएको छ । २७ वटा अन्य उध्दारका काम पनि भएको पश्चिम कमाण्डले बताएको छ ।

अघिल्लो वर्ष ३४ गर्भवती,अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।

टिप्पणीहरू