वकिलहरुले भारतको नजिर देखाउन थाले

वकिलहरुले भारतको नजिर देखाउन थाले

भारतीय सर्वोच्च अदालतमा कुनै बेला प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाजस्तै भी.रामास्वामी भन्ने न्यायाधीश थिए । उनका बारे मिडियामा अनेक समाचार छापिन्थे । सन् १९९१ को फेब्रुअरी १ का दिन भारतीय सर्वोच्च अदालत बार एसोसिएसनले रामास्वामीविरुद्ध एउटा प्रस्ताव पारित गर्यो ।

सर्वोच्च अदालत बारको प्रस्तावपछि प्रधानन्यायाधीशले उनलाई मुद्दामा ‘बेञ्च’ तोक्न निषेध गरे । बारको प्रस्तावलाई साथ दिँदै भाजपा र वामपन्थी दललगायतले सदनको बैठक डाके । रामास्वामीबिरुद्ध १४ आरोपसहित संसदमा महाभियोग दर्ता गराइयो ।

उक्त प्रस्ताव स्वीकार गर्दै सभामुख रवि रेले तीन सदस्यीय जाँचबुझ समिति गठन गरे । समितिको संयोजकमा सर्वोच्च अदालतका न्यायमूर्ति पिबी सावन्त,सदस्यहरुमा बम्बे हाइकोर्टका मुख्य न्यायाधीश प्रोबोध दिनकर देसाइ र सर्वोच्चका अवकाशप्राप्त न्यायमूर्ति ओ चिन्नपा रेड्डी तोकिए ।

समितिको जाँचबुझपछि १४ मध्ये ११ वटा अभियोगमा रामास्वामी दोषी ठहर भए । तत्पश्चात भारतीय लोकसभामा महाभियोग पारित गर्ने प्रस्ताव अगाडि बढाइयो । महाभियोगमा दलहरु विभाजित भए ।

भारतीय काँग्रेसका लोकसभा सदस्यहरुले प्रस्तावको विपक्षमा मतदान गरे । महाभियोग प्रस्ताव फेल भयो । तर महाभियोग प्रस्ताव फेल भएपछि पनि न्यायमूर्ति रामास्वामीले ‘आफूविरुद्धको प्रस्ताव फेल भए पनि नागरिक समाज र बारको एक तप्काले आफूलाई अविश्वास गरेकाले नैतिक दृष्टिले पदमा बस्न उचित नहुने’ भन्दै राजीनामा दिए ।

सबैको विश्वास जित्नु पर्ने पदमा बसिरहन विवेकले नमानेको भन्ने उद्घोषसहित न्यायाधीश रामास्वामी सर्वोच्चबाट बाहिरिएका थिए । कानूनी रुपमा त रामास्वामीले जिते । तर राजीनामा दिएर नैतिकता देखाए भनियो ।

टिप्पणीहरू