‘दोस्रो त्रयमासमा पनि उत्साहजनक परिसूचक’

‘दोस्रो त्रयमासमा पनि उत्साहजनक परिसूचक’

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बताएको छ । कोरोना महामारीको जोखिम रहँदा रहँदै पनि बैंकले यो बीचमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरिएको छ ।

पछिल्लो विवरणअनुसार बैंकले चालु आवको दोस्रो त्रयमाससम्म कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याएको छ ।

निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशतले अर्थात् २२ अर्ब ४ करोडले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याएको जानकारी दिएको छ ।

पछिल्लो त्रयमासमा २ अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो वार्षिक विन्दुगत आधारमा १६ दशमलब ५७ प्रतिशतले बढोत्तरी रहेको बैंकको भनाइ छ ।

बैंकले स्व–पुँजीमा प्रतिफल (च्यभ्) २१ दशमबल ७७ प्रतिशत रहेको जनाएको छ । जुन अरु सबै वाणिज्य बैंकहरूमध्ये बढी रहेको अनुमान हो । त्यसैगरी वार्षिक प्रति सेयर आम्दानी ४१ दशमलब ४३ रुपैयाँ रहेको देखिन आएको छ । यो पनि अन्य बैंकको भन्दा बढी रहेको विश्लेषण गरिएको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा सफलता हात लागेको जनाएको छ । जसअनुसार निष्क्रिय कर्जा दोस्रो त्रयमाससम्ममा शुन्य दशमलब ४७ प्रतिशतमा सीमित हुन आएको छ ।

दोस्रो त्रयमासम्म ५ लाखभन्दा बढी नयाँ खाताहरू थपिएको छ । यसपछि बैंकमा ३३ लाखभन्दा बढी खाता कायम हुन आएको छ । बैंकले कुल कर्जा लगानीको झण्डै ८८ प्रतिशत साना तथा मझौला र रिटेल क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा एनआईसी एशिया बैंक अग्रणी रहेको अनुमान छ । यसअघि चालु आर्थिक वर्षको प्रथम त्रयमासमा पनि यो बैंकको वित्तीय विवरणका सबै सूचकांक अगाडि थियो ।

बैंकले मुलुकभर ३ सय ५८ शाखा, ४ सय ७३ एटिएम, ७० वटा विस्तारित काउण्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अहिले मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले कुल जनसंख्यामा २० देखि ५० वर्ष उमेर समूहका झण्डै २५ प्रतिशतलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

दोस्रो त्रयमास विवरण सार्वजनिक गर्ने क्रममा बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ८३ करोड रुपैयाँभन्दा बढी सरकारलाई बुझाएको जानकारी पनि दिएको छ ।

वित्तीय समावेशीअन्तर्गत मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा र कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गर्ने पनि एनआईसी एसिया भएको उसको दाबी छ ।

मुलुकको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको उल्लेख छ ।

टिप्पणीहरू