‘कमरेड सनकबहादुर’ को अर्को सनक: विद्यालय खोल्दा ३ गुरू संक्रमित

‘कमरेड सनकबहादुर’ को अर्को सनक: विद्यालय खोल्दा ३ गुरू संक्रमित

संघीय सरकार,शिक्षा मन्त्रालयको निर्णय रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसी उर्फ ‘कमरेड सनकबहादुर’ ले अटेर गरेर विद्यालय सञ्चालन गर्दै आएका छन् ।

गत पुस २६ गते शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्देशन दिए पनि ‘कमरेड सनकबहादुर’ को अटेरीले विद्यालय सञ्चालन हुँदा तीन जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार भगवती आधारभूत विद्यालय गंगादेव गाउँपालिका–३, कुकुरगारेमा गरिएको एन्टिजेन परीक्षणमा तीन जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाभित्र कोरोना संक्रमण नदेखिएकाले विद्यालय सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले बताए । ‘शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्देशन गरे पनि हामीले बन्द गरेका थिएनौं’,बस्नेतले भने, ‘कार्यपालिका बैठक बस्दै छ,के निर्णय हुन्छ हेरौं !’

गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी निर्णय गर्दै आएको स्थानीयले बताएका छन् । २०७७ पछि देशका सबै स्थानीय तहबाट स्रोत व्यक्तिलाई पुनः शिक्षकका रुपमा पठाइए पनि गंगादेव गाउँपालिकाले भने अझै स्रोत व्यक्तिलाई नै गाउँपालिकामा शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइरहेको छ ।

गाउँपालिकामा विद्यालय निरीक्षक कार्यरत भए पनि शक्तिको आडमा तल्लो तहका स्रोत व्यक्ति शेरबहादुर डाँगीलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको स्थानीयले बताएका छन् । यस्तै विद्यालय कर्मचारी हरि खड्कालाई गाउँपालिकामा नै राखिएको छ ।

विद्यालयको लेखा र प्रशासन हेर्नुपर्ने खड्काले गाउँपालिकाको शिक्षा शाखाको खटनपटन गरिरहेका छन् ।

टिप्पणीहरू