गोठाल्नी कान्छीहरू

गोठाल्नी कान्छीहरू

यो मन जिस्किरहने चौतारीमा
खै कसका होलान्
एक बैंस फूलहरू मुस्कुराइरहेका ?
खै कसले होला
एक गुच्छा जिन्दगीलाई
सपनाका थुँगाहरूमा सजाइदिएको ?
मनभित्रका कुण्ठाहरूलाई
चैते हुरीका उष्ण वेगहरू सँगसँगै
खै कसले होला
थाहै नपाई वनडढेलो सल्काइदिएको ?

कहिल्यै नटुंगिने यात्राहरूमा
खै कसले होला
यी उकाली–ओरालीहरू ओछ्याइदिएछ ?
भञ्ज्याङ्पारिको घाम भेट्न
आधी रातमै बाटो लाग्ने
बटुवाका बेरुजु खल्तीहरूमा
कसले राखिदियो होला
यी अविच्छेदित कुमाले चक्रहरू ?

कठिहारी झर्दै गरेको हुलमा
खै कहाँबाट बर्सियो
यति ठूलो नश्लभेदको विखण्डन ?
मूल्यबोध नरोपिएको यो गाउँमा
आखिर किन
नमच्चिएका होलान्
सदियौंदेखि चेतनाका लिङ्गेपिङहरू ?
आफैं मृत्यु उमार्ने पहाडहरू
किन होला
आजकाल मृत्युसँगै डराइरहेछन् ?

उहिल्यै कुनै एक दिन
माझीटारमा हलगोरु नार्दै गर्दा
कसले चोरिदिएछ
उसको जीवनको पुरानो फाली
र यी दुःखका ढिस्काहरू जोतिएनछन् ?
गोठाल्नीको जोवन फक्रिएर
तन्नेरी सपना देखिरहेको यो वनमा
कसले च्यातिदिएछ
बैंशालु पिपिरी पातहरू
र यी पिरतीका धुनहरू बज्दैनन् ?

भञ्ज्याङ काट्न दौडिरहेका
छापामारझैँ बटुवाहरूले
अकस्मात् !
जीवनको शयलपाटी भेटे भने
के उनीहरू समयको टारीमा सुस्ताउलान् र ?
यी विद्रोही पहाडहरूमा
पुस्तौंदेखि नमच्चिएका लिङ्गेपिङहरू
अनायासै मच्चिन थाले भने
डिठ्ठा हजुरका बुईंगलमा
कति रेक्टर स्केलको भुईंचालो जाँदो हो ?

सचेतनाका सुमधुर बहरहरूमा
कसले विष मिसाइदियो
र यो पीडाको उराठ जंगल उम्रिएछ ?
उहिल्यै कुनै एक दिन
आमाको पोल्टाबाट हराएको फाली
फेरि खोज्दै खोज्दै
यो समयका गोठाल्नी कान्छीहरू
गाजलको घेरा नाघेर
माझीटार खेतसम्म झरे भने
यो आकाशको निधारमा
कुन रङको इन्द्रेणी उदाउँदो हो ??

प्रथा

टिप्पणीहरू