विद्यार्थी नेता र सरकारी पदाधिकारीबीच गृहमन्त्रालयमा छलफल

विद्यार्थी नेता र सरकारी पदाधिकारीबीच गृहमन्त्रालयमा छलफल

मेडिकल कलेजहरुले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित संयुक्त विद्यार्थी संगठनका नेताहरुले आज गृह र शिक्षामन्त्रीसँग संयुक्त छलफल गरेका छन् ।

विद्यार्थीहरुका माग सम्बोधनका लागि भएका पटक-पटकका छलफलपछि आज गृहमन्त्रालयमा संयुक्त छलफल भएको हो । अपरान्ह पौने चार देखि साढे पाँच बजेसम्म भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, गृहसचिव टेक नारायण पाण्डे र सात विद्यार्थी संगठनका अध्यक्ष सहभागी रहेका थिए ।

विद्यार्थी संगठनका तर्फबाट नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुवर र अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही सहभागी थिए ।

यसअघि हिजो शिक्षामन्त्री पौडेलले संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको जानकारी गराएका थिए ।

विद्यार्थीका मागबारे गृहमन्त्री खाँण र शिक्षामन्त्री पौडेलले पनि छलफल गरेका थिए ।

टिप्पणीहरू