​आज म सक्कली माओवादी खोजिरहेछु

१६ वर्षको उमेरमै माओवादीमा लागियो, हामीजस्ता कार्यकर्तालाई भ¥याङ बनाएर नेता करोडपति बने । दशकअघि ‘देश’को पेन्टिङ गर्ने सपना देखेको थिएँ । असमानता, गरिबीको फोहोर हटाएर समानताको रंगले देशलाई ‘सिंगार्न’ गर्न चाहन्थँे । तर, कहाँको बाटो हिँडेको, कुन ठाउँमा पुगियो । कहिलेकाहीँ आफंै हिँडेको बाटो देखेर अचम्भित हुन्छु । माओवादी कसरी भएँ, आफंैलाई रोचक लाग्छ ।

म त्यो समय ७ कक्षामा पढ्दै थिएँ । जुँगाको रेखी बस्दै गर्दाको समय, शनिबारको दिन नुहाइधुवाइ गरेर बसेको थिएँ, त्यही दिन गाउँमा साँस्कृतिक कार्यक्रम थियो, राति मेरो घरमा माओवादी कलाकार वास बसे । म सानैदेखि नाच्ने, गाउने यही कलाकारिताको हुटहुटीले माओवादीमा सामेल गराइदियो । ०५७ सालमा देश तत्कालीन माओवादी र प्रहरीबीचको कुरुभूमि बनेको थियो । जसबाट म जन्मेको सुदूरपश्चिमको बाजुरा पनि अछुतो रहन सकेन । कक्षा ७ को किताब एकातिर थन्क्याएर म बन्दुकको नाल समाउन पुगेँ । पढाएर ठूलो मान्छे बनाउने सपना देखेका बुवा बिचलित हुनुभयो । म घरको कान्छो छोरा, उहाँ एक महिनासम्म मलाई फर्काउन पछि लाग्नुभयो । तर, सक्नु भएन, थाकेर छाड्नुभयो । एकातिर मेरो मनले भन्थ्यो डान्सर बन् अब । समाजमा ‘ठूलो’ मान्छे बनाउने बाबुको रहर । दुवै रहर एकअर्काका विरोधी ।

त्यसैले बाटो छुट्टियो । बाबुको सपना तुहियो । माओवादी बन्दा सपना के हो ? पार्टी के हो ? केही थाहा थिएन । एउटा आँधीहुरीले राजनीतिमा हिँडायो । कलाकारमा जोडिएको तीन महिनामा माओवादी पार्टीको सदस्यता पाएँ । त्यो समय पार्टी सदस्यता पाउन घटीमा ६ महिना नभए पनि एक वर्ष लाग्थ्यो । साँस्कृतिक यात्रा कालिकोट र सुदूरपश्चिमका सबै जिल्लामा पुग्यो । क्रान्तिकारी गीतमा कम्मर मर्काएर कैयौंलाई रुवाइयो । धेरैलाई माओवादी बनाइयो । ०६२÷६३ को आन्दोलनपछि माओवादीका नेता मन्त्री बने । समय फेरियो । नेताको जीवनशैली फेरियो । चप्पलमा हिँड्ने नेता प्राडो र पजेरोमा देखिन थाले । कलाकारहरू ‘युज एन्ड थ्रो’ भए । कुनै बेला आशाको किरण बनेका नेता बाटोमा भेट्दा नचिनेजस्तो गर्न थाले । समाजवाददेखि साम्यवादसम्म पुग्ने म र मजस्ता कलाकारको सपनाको आकाशमा बादल मडारिन थाल्यो । शान्तिप्रक्रियामा माओवादी आएको १० वर्षबीच नेता–कार्यकर्ताबीचको सम्बन्ध तार टुटेको सारंगीजस्तै हुन पुग्यो । कलाकारको भोक नेता, मन्त्री, सांसदहरूले मेटाउन सकेनन्÷सक्दैनन् पनि । तार टुटेका सारंगीले कसरी मीठो धून दिनु र ? ठीक उस्तै हालत भयो हामी कलाकारको जीवन । 

पार्टीभित्र कलह भयो । त्यो कलह विभाजनको तहसम्म पुग्यो । कलाकार पनि विभाजित बने । बिचलित भए । हिजो सँगै हिँडेका साथीभाइ बिरानो÷पराइ बन्न थाले । कोही रातारात क्रान्तिकारी बने, कोही गैरक्रान्तिकारी । म आफैं वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको फेरो समात्न पुगें । आज पनि मेरा धेरै सहपाठी खाडीमा पैसासँग पसिना साँटिरहेका छन् । ममा भने उता जाने सपना पलाएन । स्वदेशमा रहेका केही साथी डालोभरि बदाम बोकेर जीवन गुजारा गरिरहेका छन् । हामीजस्ता कलाकार लाखापाखा लागेको र  चैतेहरूले राज जमाएको देख्दा मन कुँडिन्छ । तर, पिरलो मात्र गरेर जिन्दगी चल्ने होइनरहेछ । कहिलेकाहीँ लाग्छ, कठै कुन बाटो हिँडिएछ अञ्जानमा । सबैभन्दा प्यारो जीवन बलिदान गर्न हिँडेकोमा गर्व लाग्थ्यो । तर, शान्ति प्रक्रियापछि यो मानक भत्कियो । सबैभन्दा सोखिन, विलासी र काम नगरेर खानेमा माओवादी कार्यकर्ता अग्रपंक्तिमा देखिन थाले । देश परिवर्तन गर्न हिँडेका मान्छे आफैं बिचलित बन्न पुगें । भोको पेटले क्रान्ति सम्भव थिएन ।

खाडी मुलुकतिर भासिन मन लागेन । यहीँ केही गरौं ? गर्न सकिने केही थिएन । त्यसैले अरूका घरको भित्ता पोत्ने काम सिकेँ । माओवादीका गीतमा नाच्न खप्पिस मलाई पेन्टिङ सिक्न भने झण्डै एक वर्ष लाग्यो । जबकि माओवादी हुन खासै समय लागेको थिएन । देशलाई रंगिन बनाउने सपना देखेको मान्छे आज काठमाडौंका साहुको घर रंग्याउँदै हिँड्छु । एउटै कुरा बुझेको छु, काम सानो–ठूलो हँुदैन र श्रमलाई सम्मान गर्नुपर्छ । त्यही कारण आज म आफ्नै मातृभूमिमा छु, नेपाली दाजुभाइसँगै छु । भन्छन् नि मान्छेलाई बाध्यताले धेरै सिकाउँछ । आफू मात्र बाँँचेर भएन, परिवार पनि बचाउनुप¥यो । यसका लागि केही न केही गर्नै प¥यो । त्यही भएर पेन्टरको काम गर्दै छु, पाए ठेक्का लिन्छु । नपाए अरू साथीसँग मिलेर काम गर्छु । जिन्दगी चलाइरहेको छु । कमाइ त के हुन्छ र ? दुई छाक खान जसोतसो पुगिरहेकै छ । आजसम्म कसैसँग हात पसार्नु परेको छैन । १० वर्षे जनयुद्धमा लागेको भए पनि विवाह भने जिल्लामै गरियो । त्यो पनि प्रेम विवाह ।

श्रीमती अहिले जेटिए पढिरहेकी छन् । मैले पनि शान्तिकालमा आएपछि एसएलसी पास गरेँ । त्यसपछि १२ सकें । माओवादीको नाता लगाउँदै जागिर खोज्न नेताको दैलोदैलो चाहार्न मन लागेन । यही काममा गर्व गरिरहेको छु । एक छोरी, श्रीमती र आफ्नो जीवन धानिरहेको छु ।’ अहिले पनि म शुरुको माओवादीको खोजीमा छु । जनयुद्धले सुतेको मान्छे उठायो, उठेका मान्छेलाई हिँडायो । हिँडिरहेको मान्छेलाई दौडायो । माओवादी जनयुद्धले देशको कुना–कुनामा राजनीति पु¥यायो । हजारौंको सपना जोडिएको हिजोको माओवादी आफैं कठै आज कहाँ पुग्यो ? पूर्वएमालेसँगै विलय हुनुरहेछ त यतिका वर्ष उसैको टाउको काटेर, गाउँबाट खेदेर जालझेलपूर्ण राजनीति किन गरिएको ? अहिले अनेक नाममा बिचलित भएका, बिग्रिएका, भत्किएका, माओवादी देख्दा मन दुख्छ तर मजस्ता भुइँमान्छेले मन दुखाएर मात्र यहाँ हुने के रहेछ र ? 

– मेगराज (वैद्य माओवादीनिकट एक कलाकार) 

टिप्पणीहरू