ओच्छ्यानमा थलिएकालाई घरमै नागरिकता

ओच्छ्यानमा थलिएकालाई घरमै नागरिकता

-अमृत बास्कुने

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका सुकलाल गर्बुजा पछिल्लो ४९ वर्षदेखि विस्तराबाट उठेका छैनन् । जन्मजात अपाङ्गता भएका उनले शारीरिक रुपमा असक्त भएकै कारण विस्तरा छोड्न नसकेका हुन् ।

विस्तराबाट उठ्नै नसक्ने सुकलालका लागि जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिने कुरा कल्पनाभन्दा पनि बाहिर थियो । तर, प्रशासनले विस्तरामै पुगेर नागरिकता दिएपछि नागरिकता पाउने वर्षौंदेखिको सपना साकार भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना आफै सुकलालको घरमा पुगेर ओछ्यानमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । वि.सं..२०२९ सालमा जन्मिएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ रानाले बताए ।

‘जन्मेदेखि ओछ्यानमै पल्टिएको करिब पाँच दशक पुग्न लागेको रहेछ, ‘अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर अनि हिस्तानका वडा अध्यक्ष गमबहादुर फगामीले अनुरोध गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको हो’, उनले भने ।नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएपछि नागरिकता बनाउनका लागि आफूले पहल गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष मगरले बताइन् । उनले भनिन्,‘नागरिकता नहुँदा भत्ता वितरण गर्न समस्या भएको हुँदा नागरिकताका लागि पहल गरेको थिएँ, अब नागरिकता भयो बाँकी प्रक्रिया पुरा गरेर भत्ता उपलब्ध गराइनेछ ।’

‘उपाध्यक्षले वास्तविकता बताएपछि वडा अध्यक्षलाई आवश्यक कागजात बनाएर ल्याउन भनेको थिएँ, वडा अध्यक्षले सबै प्रकारका कागजातहरु ल्याएपछि जिल्ला प्रशासनमा भेरिफाई गरियो अनि घरमै पुगेर विस्तारामै सुतिरहेका गर्बुजालाई नागरिकता दिएको हो’ प्रजिअ रानाको भनाइ छ।‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएको अवस्थामा घरमै आएर नागरिकता दिँदा सपना जस्तै लागेको भन्दै सुकलालका बुबा जगबहादुर पुनले खुशी व्यक्त गरे । नागरिकता नहुँदा छोरा सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएको उनको भनाइ छ ।

हिस्तान पुगेर नागरिकता वितरण गरेपछि अब पूर्णरुपमा अशक्त भएका नागरिकलाई घरदैलोमा पुगेर नागरिकता दिने आफ्नो योजना रहेको प्रजिअ रानाको भनाइ छ । नागरिकता वितरण गर्ने क्रममा वडा अध्यक्ष गमबहादुर फगामी, वडा सदस्य टिका घताने लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू