खुराफातले कसैलाई कहाँसम्म पु¥याउँछ

खुराफातले कसैलाई कहाँसम्म पु¥याउँछ

-पूजा लम्साल

कानुनविपरीत साढे चार लाख रुपैयाँ अतिरिक्त शुल्क खोजेको विरोधमा १४ पुसदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका बिद्यार्थीहरु आन्दोलित छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेअनुसारे कूल ४४ लाख ३६ हजारमध्ये नोबेलमा प्रथम बर्षको १४ लाख ८५ हजार रुपैयाँ बुझाएर बिद्यार्थीहरु भर्ना भएका थिए । पहिलो बर्षको शुल्क लिइसकेपछि नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीपवापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कवापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्कसहित ४ लाख ८२हजार बार्षिक अतिरिक्त बुझाउन दवाव दिनथाल्यो ।

तर नियम विपरितको शुल्क दिन बिद्यार्थीका अभिभावकहरुले आनकानी गरे । प्रशासनमा पटक पटक छलफल भयो । नोबेलले पहिले अतिरिक्त शुल्क लिँदैनांै भनेर प्रतिबद्धता जनायो । तर जब १४ पुसदेखि पठनपाठन शुरु भयो अतिरिक्त शुल्क तिर्न नसक्ने ८० भन्दा बढी बिद्यार्थीलाई कक्षा कोठामा प्रवेश नै गर्न दिएन । बिद्यार्थीहरुले फेरि पनि कलेज र प्रशासनसँग हारगुहार गरे । तर उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित भएन ।

चिकित्सा शिक्षा आयोगले गैरकानुनी शुल्क असुल्न पाइँदैन । सम्बन्धनसमेत खारेज हुनसक्छ भनेर नोबेललाई चेतावनी दियो ।तर पनि टेरेन । गृहमन्त्रालयले अतिरिक्त शुल्क असुल्ने नोबेलका सञ्चालकलाई समातेर कानुनी कार्वाही गर्न प्रशासनलाई निर्देशन दियो । तर किटानी उजुरी नआएको भन्दै मोरङ प्रशासन टक्टकियो । बिद्यार्थी तीन छक्क परे ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘कोही पनि माफियाहरु कानुनबाट भाग्न सक्दैनन्’ भन्दै बिद्यार्थीका अगाडि डुक्रिए । तर उनकै अगाडि काठमाण्डौ मेडिकल कलेज (केएमसी) का प्रिन्सिपलले पीडित बिद्यार्थीलाई मज्जाले हकारे । भोलिपल्ट सरकार अध्यक्ष डा. सुनिल शर्मासँग वार्तामा बस्यो । तर शर्माले सरकारको नियम मान्दिन, मेरो लगानी मेरो नियम हुनुपर्छ भनेर ठाडो चुनौती दिए । नोट अफ डिसेन्ट लेखे । आक्रोशित बिद्यार्थीहरुले उनीलाई सिँहदरवारभित्रै मोसो दल्ने प्रयत्न गरे । प्रहरीले पाँच जना बिद्यार्थीलाई नियन्त्रणमा लियो ।

नोबेलमा ७० भन्दा बढी बिद्यार्थीले अतिरिक्त शुल्क नतिरेकै कारण अझै पढ्न पाएका छैनन् । शुल्क बुझाउने १० जना भारतीय र केही नेपाली बिद्यार्थीलाई सहमति र नियम कानुनको धज्जी उडाउँदै निरन्तर पढाइरहेको छ । दलका नेताहरु बिद्यार्थीको जायज आन्दोलनलाई साथ दिनुको साँटो व्यर्थमा किन आन्दोलन गरेर हाम्रो चन्दादातालाई भड्काइदिएको भनेझैं अझै चुपचाप नै छन् ।

भोलि स्वास्थ्य र शिक्षा मात्र नभएर हरेक क्षेत्रमा यसैगरी माफियाहरुले निरिह सरकारलाई घुँडा टेकाउँदै निर्वाध सिण्डिकेट चलाइरहे भने के हो न्याय ? कहाँ जाला हाम्रो संबैधानिक अधिकार ? अनि बिधिको शासन भएको देशमा अटेर गर्नेलाई कानुनी कार्वाही गराउने दायित्व पीडितहरुको नभएर सरकारको हुनुपर्ने होइन र ? हैन भने सरकारले खुलेर भनिदिनुपरयो नोबेलले जे गरेको छ, त्यो ठीक छ सबैले मान्नुपर्छ भनेर ?

अनि किन टेर्थे त यस्ताले सरकारलाई ?

२०५५ तिरको कुरा हो, (विराटनगरका केही जोशिला युवा ब्यवसायीहरु) जो काठमाण्डौको नोबेल एकेडेमी र नोबेल ईन्स्टिीच्युट संचालन गरिरहेका थिए) ले नेपालमा एउटा सुबिधासम्पन्न मेडिकल कलेज चलाउने सोच बनाए । अनिनवराज पाण्डे, रविन दहाल, उमेश पाण्डे, आदित्य खनाल लगायतका साथीहरु मिलेर काठमाण्डौमा एउटा मेडिकल कलेज खोल्ने तैयारी गरे । यहि सोचलाई मूर्तरुप दिन नवराज र रविन मिलेर काठमाण्डौको दुवाकोटमा २ सय रोपनी जग्गा पनि किन्न कस्सिए ।

तर एकदिन काँग्रेसका एक वरिष्ठ नेतासँग एभरेष्ट होटलमा सरसल्लाह लिनेक्रममा काठमाण्डौमा हैन आफनै गृहनगर बिराटनगरमा मेडिकल कलेज स्थापना गर्न उनीहरुले सल्लाह पाए । ती नेताले बिराटनगरमा मेडिकल कलेज नभएको र चाँडै संञ्चालन गरेमा सवैलाई नाम र दाम दिनसक्ने सुझाए । त्यो बेला डा. ज्ञानेन्द्र गिरी बिराटनगरमा चर्चित थिए । उनको गुडवील स्वास्थ्य सेवामा राम्रो थियो । उनीलाई भेटेर उनीहरुले नेतृत्व लिन आग्रह गरे । गिरीले पहिले अध्ययन गर्छु भने । पछि कलेजको नेतृत्व लिन तैयार भए । अनि २०५७ तिर सबैलाई समेटेर नोबेल कम्पनी तैयार गरे ।

विराटनगरसँग सिमाना जोडिएको गाविस झापा वैजनाथपुरस्थित विद्युत प्राधिकरणको क्षेत्रिय कार्यलय पछाडी र सरौचियामा रहेको जग्गा हेरिए । र, तीमध्ये एक ठाउँको जग्गा लिने निधो भयो । तर जग्गालाई तुरुन्त दिने पैसा थिएन । तात्कालिन नेपाली काँगेसका जिल्ला नेता चुमनारायण तवदारलाई भेटेर पछि पैसा दिनेगरी जग्गा पास गरिदिन आग्रह गरे । तवदारले बैना मात्र लिएर तत्काल विराटनगर ५ कञ्चनवारीपछाडि १५ विगाहा ९ कठ्ठा जग्गा विगाहाको १२ लाखका दरले तत्काल पास गरिदिए ।

यसरी भयो सुनिलको प्रवेश

डा. शेखर कोइराला धरानस्थित बिपी प्रतिष्ठानमा उपकुलपति हुँदा सुनिल शर्माले घनिष्ठता बढाएका थिए । पछि मोरङको गोठगाउँमा मेडिकल कलेज संचालन गर्ने पूर्वाञ्चल बिश्वविद्यालयले नीति लिएपछि शर्मा त्यतैतिर धाउन थाले । उनी बिद्यार्थी उपलव्ध गराउने काम गर्थे । पहिले चितवनस्थित भरतपुर अस्पतालको ल्याबमा काम गर्थे । त्यहाँबाट पढ्न चीन गए । र, बिद्यार्थी चीन लाने धन्दा थाले ।

सम्बन्धनका लागि धाउने क्रममै सुनिल शर्मा (हाल नोबेल र केएमसी मेडिकल कलेजका संञ्चालक) ले केयु (काठमाण्डौ विश्वविद्यालय) बाट सम्वन्धन दिलाउन पहल गर्ने आफू पनि नोवेलको शेयर सदस्य हुन ईच्छा जाहेर गरे । नेपाली काँगेसका नेता डा. शेखर कोइरालाले पनि सुनिललाई शेयर सदस्य बनाउन आग्रह गदै बीस प्रतिशत नदिए सम्बन्धन रोकिदिने चेतावनी दिए । शेखरले अध्यक्ष डा गिरीलाई फोन गरेर त्यसो भनेका थिए ।

तर अध्यक्ष गिरीले शर्मालाई शेयर दिन चाहेनन् । यहि वीचमा शिक्षामन्त्री आमोद उपाध्यायले विराटनगरको प्रतिष्ठानलाई संञ्चालकहरुले ठीक ढंगले संञ्चालन गर्न नसकेको भन्ने आरोप लगाएर आफ्ना छोरा संजिव उपाध्यायलाई पनि शेयर दिन आग्रह गरे । उनको चाहना सुनिललाई शेयर नदिइयोस् भन्ने थियो ।

तर पनि दुवैले शेयर पाए । छोरा संजिवले शेयर पाएपछि शिक्षा मन्त्रालयबाट आमोदले कलेजको सम्वन्धन दिलाउन पहल गरे । गिरिजाप्रसादकै आग्रहमा बालुवाटारमै केयुको बैठक बसाएर नोवेललाई सम्वन्धन दिने निर्णय गरिएको थियो । त्यो बेला डाक्टर सुरेशराज शर्मा उपकुलपति थिए । सम्वन्धन दिएबापत नोबेलले केयुलाई ४ करोड बराबरको होस्टल निर्माण गरिदिने सहमति भएको थियो ।

वाकपटुतामा सिपालु सुनिल र संञ्चालक नवराज पाण्डेको राम्रो सम्बन्ध बनेको थियो । यसैले सुनिललाई उनैले कम्पनीको बोर्ड बैठकमा डायरेक्टर बनाउन प्रस्ताव गरे ।

यतिबेलासम्म कलेज कसले चलाउने र सर्वेसर्वा को हुने भन्नेमा निक्कै धेरै बिवाद चर्किसकेको थियो । शर्मा निक्कै चलाखी पूर्वक खेलीरहेका थिए । शर्मा नवराजलाई अध्यक्ष बन्नुपर्छ र अस्पताल चलाउनुपर्छ भनेर सपना देखाउँथे । यहि विवादले केही समय वाक्क भएर डाक्टर गिरी अध्यक्ष भएपनि अस्पताल गएनन् ।

यता जग्गाको सबै पैसा भुक्त्तानी भइसकेको थिएन । तर कलेज संञ्चालन भैसकेको थियो । खर्च पनि बढिरहेको थियो । कर्मचारीहरु नियुक्त भैसकेका थिए । यसैवीच विराटनगर मुनालपथका युवा आदित्य शर्मा (खनाल) कलेजमा शेयर सदस्यका रुपमा प्रवेश गरे । उनी अस्पताल र कलेज चलाउन डा. गिरी र पाण्डे दुवैको आवश्यकता छ भन्ने मध्ममार्गी सोच राख्थे । उनको सोच सुनिल शर्मालाई वाधक बनिरहेको थियो ।

तर अस्पतालका संञ्चालकवीच विवाद ल्याउने काम सुनिल शर्माले गरिरहेको ठहरगरी उनलाई कम्पनीको सञ्ंचालक समितिबाट निकाल्नु पर्नेमा धेरै सदस्य सहमत भए । यसैले निर्देशक नवराजले कम्पनी रजिष्ट्रारको कार्यलयमा शर्माबिरुद्ध उजुरी गरे । चलाख शर्मा विना पैसा कलेजको ११ प्रतिशत सेयरको मालिक बनेर हैकम जमाएको धेरैलाई चित्त बुझेको थिएन । शर्माले रजिष्ट्रारको मुद्दा हारे । उनलाई ६० दिनभित्र कम्पनीको सवै शेयर फिर्ता गर्न रजिष्ट्रारको कार्यालयले निर्देशन दियो ।

सञ्चालकहरुको अपहरण र बम आतंकको श्रृंखला

२०६४ तिर साठी दिनभित्र शर्माले कम्पनीको सेयर फिर्ता गर्छन् भन्ने लगभग पक्का भयो । यत्तिकैमा कम्पनीको सेयर फिर्ता गर्न कागजात तैयार गनुपर्ने भन्दै शर्माले कलेजका संञ्चालक समिति अध्यक्षसहित सदस्यहरुलाई काठमाण्डौ बोलाए । निम्तो पाएपछि विराटनगरबाट अध्यक्ष डा. ज्ञानेन्द्र गिरी, निर्देशक नवराज पाण्डे, तथा सदस्यहरु आदित्य खनाल, उमेश पाण्डे र पूर्व प्रम नागेन्द्रप्रसाद रिजालका छोरा जग्गु रिजाल काठमाण्डौ हिँडे । उनीहरुमा कलेज विवादबाट मुक्त हुने भो भन्ने खुशी थियो ।

तर एक्कासी सबै काठमाण्डौ विमानस्थलबाटै गाडीका ड्राइभरसहित अपहरणमा परे । अपहरणकर्ताले कलेजका संञ्चालकहरुबाट सबै कागजात र रुपैयाँ पैसा कब्जामा लिए । उनीहरुमाथि ज्यान मार्ने धम्की दिइयो । कुटपिट भयो । उक्त अपहरण सुनिल शर्माले नै गराएका थिए । यसैले पेस्तोल तेस्र्याएर कम्पनीबाट डा. सुनिललाई निकालेको हैन आफुहरुले कम्पनी छाडेको कागजमा सहि गर्न लगाइयो । सदस्यहरुबाट सही गराएपछि उनीहरुलाई बिहान ४ बजे छाडियो ।

उक्त अपहरण काण्डले देशव्यापी चर्चा पायो । शर्माविरुद्ध जाहेरी प¥यो । प्रहरीले खोजी तीव्र बनायो । शर्मा भूमिगत भए । उक्त अपहरण माओवादी सम्वद्ध वाइसिएल कार्यकर्ताहरुले शर्माकै निर्देशनमा गरेको आरोप संञ्चारमाध्यम र सञ्ंचालकहरुले लगाए । त्यही बेला डिफेन्स आर्मीकै आवरणमा नवराज पाण्डेका भाइ रमेश २८ दिनसम्म अपहरित भए । उनलाई भारतमा लगेर राखेको बताईयो । पछि शर्माले कागजात आफ्नो नाममा पारिसकेपछि उनी रिहा भए ।

यही बेला कलेजमा श्रंखलावद्ध वम बिस्फोटनका घटना भए । नोबेलका संञ्चालकहरुको घर र कलेजमा भएको श्रृखलाबद्ध विस्फोटको जिम्मा त्यतिखेर अतिहिन्दुवादी भनेर चिनिएको संगठन डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीले लिएका थिए । त्यो बेला (२०६५) मा मोरङ प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आरोपमा डिफेन्स आर्मीका सुप्रिम कमाण्डर आरपी मैनाली, उपकमाण्डर त्रिभुवन यादव, नाबेलका कर्मचारी काशी चुँडाल र राजेश चौधरीलाई पक्राउ गरेको थियो । तर किन हो सुनिल शर्मा पक्राउ परेनन् ।

त्यतिखेर विराटनगरमा वसेर पत्रकारिता गरिरहेका पत्रकार मनोज श्रेष्ठले आफूसँग शर्मा र आरपीवीच भएको फोन वार्ता सुरक्षित रहेको स्थानीय पत्रिकामा समाचार पनि बनाएका थिए ।

उक्त घटनापछि नोबेल कलेज बन्द प्रायः भयो । बिरामीहरु आउन छाडे । पहिले संञ्चालकको विवाद र पछि अपहरणकाण्डले गर्दा नोवेल विराटनगरवासीकैलागि घाँडो जस्तो भयो । कर्मचारीहरुले तलब नपाएको भन्दै आन्दोलन चर्काउन थाले ।

यसपछि उनले विराटनगरको मुनाल पथमा विराटनर्सिङ होम संञ्चालन गरेर नाम र दाम कमाइरहेका (हाल विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष) डा. ज्ञानेन्द्र कार्कीलाई बराबरीको पार्टनर बनाएर नोवेलमा भिœयाए । डा.कार्कीसँग तत्काल कलेज चलाउन पुँजी थियो । र, सुनिलसँग पैसा थिएन । कार्कीले लगानी गरेपछि कलेज संञ्चालन भयो । भनिन्छ, उनले नोबेल राम्रो सञ्ंचालनमा आएपछि आफ्नो कलेजलाई नोबेलमै मर्ज गराउनेसम्म सोचेका थिए । तर ६ महिना नबित्दै शर्माको हैकमबाट उनी विरक्त भए ।

शर्माले सहमतिविपरित कलेजको नाममा रहेको सबै जग्गा आमाको नामलगे पछि कार्की हच्किए । उनीहरुबीच फाटो वढयो । झगडा चर्कियो । अज्ञात समूहबाट डा. कार्कीलाई पनि धम्की आयो । उनका विरुद्ध विद्यार्थीहरु विभाजित गराएर आन्दोलन चर्काइयो । झगडा मिलाउने बहानामा राजनैतिक दलका नेताहरु समेत बिभाजित भए । म्यागी सेनाका नाममा कार्कीको घरमा २०६६ मा सुतली बम बिस्फोट गराइयो । विद्यार्थीहरुबाट शर्माको पक्षमा निरन्तर प्रदर्शन भए । भयभित र वाक्कदिक्क भएर डा. ज्ञानेन्द्रले शेयर फिर्ता लिए । बिना पैसा छिरेका सुनिल शर्माले करोडौंको लगानीमा बनेर संचालनमा आएको नोबेल कलेज र अस्पताल आफ्नो बनाउन सफल भए ।

नातेदारपछि आफै हर्ताकर्ता

चतुर सुनिल शर्माले कलेज हत्याएपछि युएनमा काम गर्दै गरेका दाजु केपी शर्मालाई ल्याएर निर्देशक बनाए । तर सहोदर दाजु भएपनि भाइ सुनिलको ब्यबहारबाट आजित भएर उनले पनि विवादमा आउनुभन्दा कलेज छाड्नु नै उचित हो भनेर एक बर्षपछि नै नोबेल छाडिदिए । त्यसपछि शर्माले श्रीमती र नातेदारहरु ल्याएर अस्पतालको हर्ताकर्ता वनाए । डा. शेखर कोइरालानिकट मानिने पूर्वाञ्चल बिश्वबिद्यालयका पुर्व रजिष्ट्रार भोगेन्द्र आर्चाय र डा. नारायणकुमारलाई प्रवेश गराए । तर उनीहरु पनि टिक्न सकेनन् ।

शर्माले केही बर्ष बाबु त्रिलोक न्यौपानेलाई अस्पतालको अध्यक्ष बनाए । त्यो बेला उनलाई अख्तियारले खेदिरहेको थियो । तर स्थिति साम्य भएपछि बाबुलाई हटाएर आफै अध्यक्ष बने । संबिधान निर्माणपछि २०७४ मा मोरङको ३ नम्बर क्षेत्रमा काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि देखावटी रुपमा नोबेलको अध्यक्षबाट राजिनामा दिएको कुरा बाहिर ल्याए ।

तर पराजित भएपछि अध्यक्ष बने । पछि नोबेलबाट कमाएको पैसाले काठमाण्डौको केएमसी मेडिकल कलेज पनि खरिद गरे । र हाल मनमौजी अतिरिक्त शुल्क असुलेर सरकारको नियम कानुनलाई समेत चुनौती दिदैं मेडिकल कलेज सञ्चालन गरिरहेका शर्मा तिनै हुन् जसलाई सिआइबीले नक्कली डाक्टरको आरोपमा पक्राउ गर्न खोजेको थियो ।

तर उनी त्यो बेला फरार भएका थिए । शर्मा बिद्यार्थीलाई चिट चोराउनेदेखि लिएर सरकारलाई कर नतिरेकोलगायत अनेकौं आरोपमा पटक–पटक बिबादमा आइसकेका व्यक्ति हुन् ।

टिप्पणीहरू