शिक्षिका शान्ती शाहीद्वारा २५ लाख ठगीको मुद्दा, दश दिने मन्त्रीमाथि आइलाग्यो दुःख

शिक्षिका शान्ती शाहीद्वारा २५ लाख ठगीको मुद्दा, दश दिने मन्त्रीमाथि आइलाग्यो दुःख

एकता भएर पनि एमाले र माओवादीको मिलन बीचैमा टुट्यो । तर, एमालेका पोलिट्व्युरो सदस्यले माओवादीकी शिक्षक नेतृसँग टुटाउन खोजेको सघनता कसै गर्दा पनि नछुटेपछि त्यो विषय कानुनी लडाइँतिर मोडिएको छ ।

राजनीतिमा लागेको ४२ वर्षपछि ०७८ जेठ २७ गते केपी ओलीद्वारा प्रधानमन्त्री कार्यालयमा विनाविभागीय मन्त्री नियुक्त भएर सर्वोच्च अदालतको आदेशबमोजिम १० दिनमै असार ८ गते पदच्युत भएका एमाले कर्णाली प्रदेशका सहइञ्चार्ज मोहन बानियाँ यस्तो लफडामा परेका हुन् ।

उनले शिक्षक आन्दोलनमा सहभागी जुम्लाकी ठकुरी महिला शान्ती शाहीसँग लेनदेनसहितको सघन सम्बन्ध बनाएका थिए । मुगुका बानियाँ र जुम्लाकी ती महिलाबीचको विवाद यतिबेला एउटा चेकमा गएर शुरु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा परिवारसहित बस्ने बानियाँले विभिन्न समयमा लिएको खर्च शिक्षिकाले फिर्ता मागेपछि यही पुस ३० गते २५ लाखको चेक दिएका थिए । शाहीले ३–४ वर्षअगाडि संस्था दर्ता गर्न भन्दै बानियाँलाई दिदी, भिनाजुबाट समेत लिएर पैसा दिएकी थिइन् ।

हिजो नेपालगञ्जबाट सम्पर्कमा आएकी शान्तीले जनआस्थालाई भनिन्, ‘इन्भेष्टमेन्ट बैंकमा आज अन्तिमपटक चेक साँट्न पठाएकी छु, एकै दिनमा काम नसकिने भएकोले तीन पटकसम्म बाउन्स गराउनुपर्ने कानुनी प्रावधान रहेछ । त्यताको काम सकिएपछि सुर्खेत प्रहरी र अदालतमा गएर बैंकिङ कसुरको मुद्दा शुक्रबारसम्म दर्ता गर्दैछु । कानुनले भ्याएसम्म जे गर्न पनि तयार छु ।’

बानियाँसँग ६ वर्षदेखि सम्पर्कमा रहेको जानकारी दिँदै शाहीले भनिन्, ‘उनको जिल्ला फरक, मेरो पनि फरक । अहिले त झन् पार्टीसमेत फरक । यसबीच अनेक दुःख पाएँ, असुरक्षित भएँ, ज्यानै जोखिममा प¥यो । त्यति चेक लिन पनि ५/६ लाख खर्च भयो ।

जहाँ गयो, तँसँग के प्रमाण छ भनेर हप्काउने । तर, म अब यत्तिकै छाड्दिन ।’ आफूलाई परेको पीडाबारे उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भगवानसँग हारेँ, धेरै दुःख र पीडा छ । माफी मागे दिन जानेकी छु । इज्जत र अस्तित्व कायम गर्दै आएको एक महिला हुँ । मान्छेबाटै जानअञ्जानमा गल्ती हुन्छ, पैसाको कारणले मेरो ज्यान कहाँनेर जाने भन्ने भो ।

वर्ष दिनदेखि हिँड्दा र प्रहरी तथा वकिलकोमा धाउँदा खुट्टामा घाउ छन् । हाम्री नेता गोमा कुँवरसँग पनि पटक–पटक भनेकी हुँ । उहाँले कल गर्दा पनि दिन्छु भनेकै हो । पछि फोन रिसिभ भएन । मेरो त झन् उठ्ने कुरै भएन ।

अहिलेसम्म एक करोडपटक कल गरेँ हुँला, यदि यो कुराले कोही मसँग गलत सोचले जोडिन्छ भने होशियार, भूकम्प आउनेछ । अब त शुरुको माफी पनि दिइन्न । जनक सिञ्जाली को हो चिन्दिनँ । पटक–पटक गलत कमेन्ट गरेकोले हिजो उसको नाममा मुद्दा दर्ता भयो । बाध्यतावश बानियाँको मुद्दा सोमबार दर्ता हुनेछ ।’

यसबारे बुझ्न बानियाँलाई ९८४१–४४४६३६ मा हिजो बेलुका ५.१४ बजे जनआस्थाले सम्पर्क गर्दा यो मेरो नम्बर होइन भन्दै कल डाइभर्ट मोडमा राखिदिए ।

शाही जुम्लाको हिमा गाउँपालिका– ५, बाझागारस्थित रुपाकोट आधारभूत सामुदायिक विद्यालयकी प्रिन्सिपल हुन्, पति पनि जिल्लातिर शिक्षण पेशामै छन् ।

टिप्पणीहरू