समाजवादीसँग एमालेको एक मात्र सम्पत्ति

समाजवादीसँग एमालेको एक मात्र सम्पत्ति

काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानदेखि उत्तरतर्फ एनसेल कार्यालयपछाडि खेलकुद परिषद्को कभर्ड हल छ । त्यही हलको पश्चिमतर्फ एउटा भवन टाँसिएको छ ।

त्यसमा धेरै अघिदेखि एमालेनिकट पेशागत महासंघको कार्यालय सञ्चालनमा थियो ।  गत भदौमा एमाले विभाजन भएपछि अहिले त्यहि एउटा भवन मात्र सम्पत्तिको नाममा समाजवादीको भागमा परेको छ ।

उक्त भवन पार्टी एकीकृत हुँदादेखि नै पेशागत महासंघको भएकाले अहिले आफूहरुको हुनुपर्ने एमालेनिकट कर्मचारी र नेताहरुले दाबी गर्दै आएका छन् तर महासंघको नेतृत्वसहित अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा रहेकाले उक्त घर एमालेलाई दिन नसकिने महासंघको ठहर छ ।

महासंघले सो घर जग्गा किनेर आफैँले बनाएको हुँदा हस्तान्तरण गर्न नसकिने जवाफ दिएको छ । पेशागत महासंघमा निजामती कर्मचारी संगठन, शिक्षक संगठन, अन्तरसंस्थान, अन्तर बैंक, स्थानीय कर्मचारी संगठन, निजी सामुदायिक विद्यालय शिक्षक तथा कर्मचारी, स्वास्थ्य प्राविधिक संघलगायत आबद्ध छन् ।

२०५० सालमा सीताराम नेपालको संयोजकत्वमा महासंघ गठन भएको थियो । त्यसलगत्तै २०५१ सालको महाधिवेशनले प्राध्यापक हर्षनारायण धौभडेललाई अध्यक्ष चयन गरेको हो । अहिले पदाधिकारीहरुमध्ये दीपक सुवेदी एमालेतिर लागेको बताइन्छ ।

केही पहिलेसम्म विश्वनाथ प्याकुरेल अध्यक्ष रहेको महासंघमा अहिले प्रेमल खनालको संयोजकत्वमा अधिवेशन आयोजक समिति बनाइएको छ । विद्युत प्राधिकरणका रामप्रसाद रिमाल महासचिव र सदस्यहरुमा कानुन व्यवसायी शंकर सुवेदी, गगनसिंह बिष्टलगायत छन् ।

पार्टी विभाजन हुँदा पनि पेशागत क्षेत्रमा एमालेको प्रभाव सामान्य देखिएको बताइन्छ । विगतमा पार्टीको पेशागत जिल्ला कमिटी बैठक राख्न पटक पटक आग्रह गरिँदा वास्ता नगरिनुले एमाले कमरेडहरुको आशंकालाई उजागर गरेको महासंघका एकजना पदाधिकारीले बताए ।

गत साउनदेखि नै आफूहरुले बैठकको निम्ति आग्रह गरेको तर एमालेनिकट कर्मचारीले नमानेको ती पदाधिकारीले दाबी गरे । एमालेमा १० बुँदेको व्यापक चर्चा भएको बेलामा बैठक डाक्न मानिएको थिएन ।

तत्कालीन सचिव शंकर पोखरेलले, ‘बैठक त राख्ने तर बहुमतको नाममा आजदेखि कमिटी उतातिर आवध्द भयो भनेर भन्नुहुन्छ कि हुन्न ?’ भन्नुभएको थियो ।

तर पेशागत जिल्ला कमिटीका पदाधिकारीहरुले ‘यस्तो शंका पनि गर्ने हो कमरेड ?’ भनेपछि पोखरेल चुप लागेको बताइन्छ । वार्ताको क्रममा शंकरले पेशागततिर १० बुँदे लागु हुँदैन भनेपछि पदाधिकारीहरुले त्यसो भए हामी पनि एमाले हुँदैनौं भनेर जवाफ फर्काएका थिए ।

त्यही दिनको भेटघाट र कुराकानीबाट पेशागतमा एमाले र एकीकृत समाजवादी समूह वारपार भएको हो । पोखरेललाई समाजवादीनिकट पदाधिकारीहरुले ‘कमिटीका निर्वाचित पदाधिकारीलाई हटाएर अरुलाई राख्न सकिँदैन’ भन्ने अडान लिएपछि कुरो गाँठो परेको थियो ।

यता एमालेले हालै गरेको पेशागत भेलामा १० बुँदे भनेर गएका चित्रगुप्त साँवाको भने अहिले हुर्मत लिइएको छ । उनी पेशागत जिल्ला कमिटीको सचिवालय सदस्य थिए । एमालेले जिल्ला कमिटीमा चन्द्र रिजाललाई अध्यक्ष बनाएपछि चित्रगुप्त अप्ठ्यारोमा परेका छन् ।

टिप्पणीहरू