राजारानी लुक्ने ठाउँमा जँड्याहाको रमिता

राजारानी लुक्ने ठाउँमा जँड्याहाको रमिता

नारायणहिटी राजदबारभित्र तत्कालिन राजा रानीले बाहिरी आक्रमण, बमबार्डिङ र हवाई हमलाबाट ज्यान जोगाउने अवस्थामा लुक्नका लागि खनिएको सुरुङ अहिले कस्तो होला ? खोज्दै जाँदा जनआस्थाले फेला पा¥यो, त्यहाँ त रक्सी पसल (बार) खोलिएको रहेछ ।

ओली सरकारले व्यापारिक समूह बतासलाई नारायणहिटीसहित थुप्रै ऐतिहासिक तथा पुरातात्विक स्थल व्यापारिक प्रयोजनका लागि ठेक्कामा दिने क्रममा त्यहाँको बंकर रक्सी भण्डारमा परिणत भएको हो ।

जबकि रक्सी बेच्न र पिउन पाइने ठाउँ शहरमा छ्याप्छ्याप्ती छन् । तर, जँड्याहाहरुका लागि सुरुङभित्र बसेर रक्सी पिउने दुर्लभ अवसर दिलाउन केपी ओली सरकारले राजारानी लुक्ने ठाउँ नै ठेक्का लगाइदियो ।

उता, पशुपतिनाथमा पूजाअर्चनाका निम्ति विभिन्न देशबाट आउने हिन्दु धर्मावलम्बी भक्तजनको सस्तो सुविधालाई दृष्टिगत गर्दै भारत सरकारले ४० करोडको लागतमा तयार पारिदिएको तिलगंगास्थित पशुपति धर्मशालाको हालत उस्तै बिचित्रको छ ।

‘धर्मशाला’ का नाममा खडा गरिएको संरचनाभित्र जाँड रक्सीका बार छन् । पहिलेको संरचना भत्काएर सुत्नका लागि सेभेन स्टार स्तरका कोठा, छिर्ने र बाहिरिने अनेकन दुलाहरु बनाइएका छन् ।

पर्यटनमन्त्री प्रेम आलेसहितको टोलीले आइतबार निरीक्षण गर्दा त्यस्ता विसंगतिहरु देखिएको हो । सर्वसाधारणको नजरबाट छेलिएर रामरमितामा रम्नुपर्ने भिभिआइपीहरुलाई मध्यनजर गर्दै त्यहाँका केही कोठामा छिर्ने एउटा ढोका र आपत पर्दा बाहिरिने गरी चारवटा ढोका भेटिएका हुन् ।

कोठाको दायाँ भाग विशिष्ट राजनीतिक व्यक्तित्वका लागि सजाएर राखिएको हो– ५ लाखको ओछ्यानसहित । त्यहाँ दुई जनाको दरले सुरक्षाकर्मी बस्ने र बाहिरिने बेग्लै ढोका छ ।

जबकि, भारत सरकारले ३ सय ५० रुपैयाँमा ३ सय ७८ वटा कोठा भाडामा लगाउने शर्तसहित उक्त भवन निर्माण गरिदिएको थियो । तर, त्यहाँ सुलभ दरमा उपलब्ध हुने कमन रुमहरु जम्मा २४ वटामात्रै बनाइयो । १ सय २६ वटा बाँकी कोठाको हजारदेखि २९ सयसम्म भाडा लिने गरिएको छ ।

धर्मशालाभित्र महिला र पुरुषका अलग अलग स्पा, फिटनेश क्लबसहित लाउञ्ज बार बनाइएका छन् । हजार जनाको क्षमता भएको सभा हल निर्माण गरिएको छ, जुन कुरा भाडामा दिने पशुपतिक्षेत्र विकास कोषको जानकारीमा छैन ।

बतास समूहले त्यहाँ तिर्ने मासिक रकम हो, जम्मा ८ लाख ७५ हजार । तर, पशुपतिक्षेत्र विकास परिषद्बाट पारित गर्नुपर्ने प्रावधानलाई लत्याइएको छ ।

टिप्पणीहरू