दोष अन्त थोपर्दा बाहिर जे देखिन्छ

दोष अन्त थोपर्दा बाहिर जे देखिन्छ

कर्मचारीले चाहँदा राज्यकोष बृद्धि हुन्छ भन्ने टिप्पणीमात्रै चरितार्थ भएको छैन, सरकारले संस्थागत रुपमा तस्करी खुलाएपछि देशको आर्थिक स्थिति कतिसम्म धराशायी हुन्छ भन्ने पनि प्रष्टिएको छ ।

‘पुसको क्लोजिङ’, अर्थात् सबै किसिमका व्यवसायले नवीकृत हुनुपर्ने यो समय लक्ष्यबमोजिमको राजश्व संकलन नहुने प्रक्षेपणहरुलाई अन्ततः अर्थ मन्त्रालयका कर्मचारीहरुको टीमले हावा खुवाइदिएको छ । २ खर्ब ४० अर्ब लक्ष्यको राजश्वमा २ खर्ब २७ अर्ब, अर्थात् ९५ प्रतिशत उठाएर कर्मचारीतन्त्र साँच्चै नै लागिप¥यो भने केसम्म गर्न सक्छ भन्ने छर्लंग भएको अर्थविद्हरु बताउँछन् ।

एकातिर, राजश्व असुलीको सकारात्मक समाचार, अर्कातिर बैंक तथा बित्तीय संस्थाहरुमा तरलता अभाव । बैंकमै पैसा नभएपछि देशको अवस्था के होला ? यस्तो स्थिति सिर्जना हुनुका पछाडि पूर्ववर्ती केपी ओली सरकार जिम्मेवार भएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन् । उक्त सरकारले अनुमति दिँदा नेपालबाट १० करोड डलर बराबरको सुपारीका निम्ति पैसा बाहिर गयो ।

भारततर्फ निकासी भयो । तर, त्यही सुपारी फर्किएर नेपाल आउँदा जम्मा दुई सय रुपैयाँ किलोका दरले आयो । कर्मचारीहरु भन्छन्, ‘राज्यले संगठित रुपमा तस्करी गरायो, फलस्वरुप बैंकमा तरलता अभाव भयो ।’

अर्कातिर, तरलताको अभाव हुने कारण हो, हुण्डीको कारोबार । एक देशबाट अर्को देशमा रकम ओसारपसार गर्दा बैंकिङ प्रणालीलाई छलेर गरिने कारोबारलाई हुण्डी भनिन्छ । विदेशबाट नेपाल र नेपालबाट विदेश पठाइने ठूलो परिमाणको रकममा बैंकिङ प्रणाली नजोडिएपछि त्यसबाट उठ्ने राजश्व र सेवा शुल्कमात्रै गुमेन, पैसा छ, तर नदेखिने स्थिति भएको एक अर्थविद् बताउँछन् ।

‘विदेशका पैसा बाहिर बाहिरै घुमेपछि बैंकमा रहेको मौज्दातबाट दैनिक गुजारा चलाइयो, फलतः बैंकहरुमा तरलता अभाव भयो’, ती अर्थविद् भन्छन् । अथवा, ल्याएको रकम कुनै विकास वा बाणिज्य बैंकमा नभएर सहकारीमा राखियो भने पनि यस्तो तरलता आउँछ । मौज्दातकर्ताका लागि व्याजको हिसाब गर्ने हो भने बैंकभन्दा सहकारी राम्रो मानिन्छ । किनभने, एक त त्यो रकम बैंकिङ प्रणालीमा देखिँदैन ।

अर्कातिर, सहकारीले ८–१० प्रतिशत व्याज दिन्छ । तर, बैंकले ४–५ प्रतिशतमात्रै व्याज दिन्छ । नेपालमा हुने कूल आर्थिक कारोबारको ४० प्रतिशत हिस्सा हुण्डीले ओगटेको छ । र, ६० प्रतिशतमात्रै वैधानिक प्रक्रियाबाट आर्थिक कारोबार हुन्छ । यस्ता गतिविधिलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमा ‘एफएटिएफ’ संयन्त्र खडा गरिएको छ ।

आपराधिक, गैरकानुनी वा प्रणाली छलेर गरिने आर्जनविरुद्धको अभियान हो त्यो । त्यही अभियानको अंगका रुपमा नेपालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग बनाइएको छ । त्यसले हुण्डीजस्ता अवैधानिक आर्थिक कारोबारको ४० प्रतिशतलाई नियन्त्रण गर्नुपर्ने हो ।

तर, परिणाम त्यस्तो छैन । त्यसमाथि नेता, मन्त्री या कर्मचारीले घुस या अन्य अनुचित लाभ लिइएका रकम बैंकमा हालिँदैन । हाल्यो भने १० लाखभन्दा बढीकै स्रोत देखाउनुपर्छ ।

त्यसैले करोड र अर्बमा विभिन्न व्यापारिक घरानाले बिचौलिया र बिचौलिया मार्फत राजनीतिक दलका नेतालाई बुझाएका रकम विदेश, नातापाता, दलालहरुका कारोबार र आफ्नै घर–घरमै थुपारिएका हुन्छन् । देशमा पैसा पर्याप्त छ तर बैंकिङ प्रणालीबाट हेर्दा रित्तो देखिन्छ ।

टिप्पणीहरू