जासुसतिर नयाँ जोगाड

जासुसतिर नयाँ जोगाड

विभागले खटाएको ठाउँमा नजाँदा पनि मज्जाले जागिर खान पाइने राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागमा आठ महिनाका लागि यदुलाल खरेल प्रमुख नियुक्त भएका छन् । तर, उनले पनि अटेरीहरुलाई तह लगाउने कुनै सुरसार कसेका छैनन् ।

गणेश अधिकारीको पुस २३ गते तीन वर्षे कार्यकाल सकिएपछि खरेल नियुक्त भएका हुन् । प्रमुख हुनुअघि प्रशासन चलाएका खरेलले हुतराज थापालाई सरुवा भएका ठाउँमा पठाउन नसकेको भनी आलोचना खेप्दै आएका थिए ।

त्यसमाथि अहिले उनी नै विभागको प्रमुख भएपछि फेरि पनि खटाइएको ठाउँमा नजाने उनीजस्ता अरु थुप्रै अधिकृतहरुलाई हाइसञ्चो भएको छ । अब प्रशासन विभाग फाजिलमा रहेका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मीले हेर्ने भएका छन् ।

अवकाश पाएका गणेशले जाने बेलामा निकटस्थलाई राम्रो ठाउँ ठाउँमा हालेका छन् । काठमाडौंको जिम्मा एसएसपी प्रजेशसिंह हमालले पाएका छन् । त्यस्तै, विभागको अपरेशन हेर्ने एआइजी छैनन् ।

राजधानी उपत्यकाको अपरेशन हेर्ने जिम्मेवारी डिआइजी कूलदेव थापाले पाएका छन् । देशभरिको सूचना संकलन शाखामा तत्कालका लागि डिआइजी हुतराज थापा तोकिएका छन् ।

उनी सुदूरपश्चिम कमाण्ड गर्नका लागि कैलाली जानुपर्नेमा काठमाडौंमै बसेका हुन् । अहिले विभागको सुदूरपश्चिम कमाण्ड एसपीले र लुम्बिनीको कामचाहिँ एसएसपी किशोर श्रेष्ठको भरमा चलेको छ ।

नयाँ प्रमुख खरेल नियुक्त भएसँगै सामाखुशीमा प्रहरीले दिएको जग्गामा निर्मित निवासमा सरिसकेका छन् । अवकाश पाएका गणेश टोखास्थित आफ्नै घर फर्किएका छन् ।

टिप्पणीहरू