नियम भन्छ ३५ दिन,वडासचिवले चलाए तीन वर्ष

नियम भन्छ ३५ दिन,वडासचिवले चलाए तीन वर्ष

पर्वतको कुश्मा नगरपालिका १३ का वडासचिवले तीन वर्षपछि वडा कार्यालयबाट लिएको पेश्की वापतको रकम फिर्ता गरेका छन् । नियमानुसार पेश्की लिएको ३५ दिनभित्र फछ्र्यौट गर्नुपर्ने भए पनि उनले वडाबाट लिएको चार लाख रुपैयाँ पेश्की स्थानीयको दबाबमा तीन वर्षपछि फिर्ता गरेका हुन् ।

वडाध्यक्ष जंगबहादुर के.सी.को स्वीकृतिमा वडाका लागि विनियोजित बजेटमार्फत चार लाख रुपैयाँ आर्थिक वर्ष २०७५/७६ मा वडासचिव मोहलाल लामिछानेले चलाएका थिए । लामिछाने नेपाली काँग्रेस निकट रहेको स्थानीयले बताएका छन् । वडाध्यक्ष भने नेकपा एमालेबाट निर्वाचित हुन् ।

कुश्माको वडा नम्बर १३ का सर्वसाधारणले वडाध्यक्ष केसी र सचिव लामिछानेको मिलेमतोमा वडाको बजेटमा अनियमितता गरेको आरोप लगाएका छन् । उनीहरुले वडाको बजेट निकाशा गर्ने तर विकास निर्माणका कार्यमा सिन्को नभाँच्ने गरेको स्थानीयको बुझाइ छ ।

सचिवले चार लाख रुपैयाँ लामो समयसम्म चलाउनुमा वडाध्यक्ष पनि दोषी रहेको उनीहरुले शुरुदेखि आरोप लगाउँदै आएका थिए । चार वर्षसम्म सार्वजनिक सुनुवाई नगरी केसीले लामिछानेको बचाउ गर्दा उनले समेत वडाको रकम दुरुपयोग गरेको आरोप लागेको हो ।

सचिव लामिछानेले पोशाकका लागि दुई लाख,ज्येष्ठ नागरिक सम्मानका लागि एक लाख र कुखुराको चल्ला वितरणका लागि छुट्याइएको एक लाख रुपैयाँ पेश्की निकालेका थिए । पेश्की लिएको उक्त रकम ३५ दिनभित्र बुझाउनुपर्नेमा उनले त्यसो नगरेको नगरपालिकाका मेयर रामचन्द्र जोशीले पनि स्वीकारेका छन् ।

लामिछानेले चार लाख दुरुपयोग गर्दा आ.व. २०७४/७५ मा कोत पूजाका लागि मन्दिर बनाउन छुट्ट्याएको दुई लाख रुपैयाँबाट एक लाख अध्यक्षले दुरुपयोग गरेको स्थानीयले आशंका गरेका छन् । उनीहरुले सामुदायिक भवन निर्माण, ह्युमपाइप खरिद,कुलो निर्माण, प्रधानमन्त्री कृषि तथा स्वःरोजगार कार्यक्रम,रुख कटानलगायत कार्यमा लाखौं रुपैयाँ हिनामिना भएको बताएका छन् ।

नाम नखुलाउने शर्तमा एक जना स्थानीयले भने,‘वडामा सामुदायिक भवन निर्माणको बजेट दुरुपयोग गरी निर्माण कार्य अलपत्र पारिएको छ । ह्युमपाइप खरिद गर्ने भन्दै बजेट छुट्ट्याइए पनि सामान्य प्लास्टिकको पाइप खरिद गरेको देखिन्छ । पाइप स्थानीयले समेत नदेख्ने स्थानमा लुकाएर राखेको, कुलो निर्माण गर्ने भन्दै बजेट छुट्ट्याइएको तर बजेट निकासा गरी पाइपमार्फत् पानी ल्याउने कुलो खनिएको छैन । रुख कटानवापत पनि एक लाख निकाशा हुँदा अझै काम शुरु भएको छैन ।’

योजनाहरु पारदर्शी नभएको, विकासका नाममा छुट्ट्याइएको रकम व्यक्तिको खल्तिमा गएको, भ्रष्टाचारविरुध्द बोल्दा बेइज्जत र दमन गरिएको आरोप स्थानीयले वडाध्यक्ष र सचिवमाथि लगाउँदै आएका छन् । तर,यसबारे कुश्मा नगरपालिका भने बेखबर रहेको मेयर जोशीले जनआस्थासँगको कुराकानीमा बताए । उनले भने ‘सचिवले प्रयोग गरेको भन्ने विवाद त मिल्यो,तर भ्रष्टाचार भएकोबारे नगरले वडा नम्बर १३ लाई छुट्ट्याएको बजेटको कार्ययोजना हेर्नुपर्छ । कुन शीर्षकमा के कति हो, त्यो भने हेर्नै पर्छ ।’

मेयरका अनुसार वडासचिव लामिछानेले तीन वर्ष वडाको चार लाख रुपैयाँ चलाएका थिए । स्थानीयले दबाब दिएपछि सार्वजनिक सुनुवाइ कार्यक्रमपछि उक्त रकम फिर्ता लिइएको हो । तलब रोक्का गरेपछि मात्र सचिवले उक्त पेश्की रकम वडाको बैंक खातामा डिपोजिट गरेका थिए ।

यता,स्थानीयले भने कोरोना महामारीमा आएको राहत सामाग्री पनि वितरण नगरी कुहाएर फालेको र नगरमा प्राप्त कृषि सामाग्री आफूखुशी निकटस्थलाई वितरण गरेको अर्को आरोप लगाएका छन् । ‘वडामा आएको सामाग्री आफ्ना आसेपासेलाई दिन्छन्,नसकिए कुहाएर र बिगारेर फाल्ने गर्छन्,’ स्थानीयको गुनासो हो यो ।

अनियमितताको आरोप लागेका वडाध्यक्ष केसी र सचिव लामिछानेसँग जनआस्थाले पटक पटक सम्पर्कको निम्ति प्रयास गरे पनि सफल हुन सकेन । उता दलित महिला वडा सदस्य तथा कुश्मा नगरपालिका कार्यपालिका सदस्यसमेत रहेकी देवी नेपालीले विगत दुई वर्षदेखि नगरपालिका तथा वडा कार्यालयमा कुनै पनि बैठकमा उपस्थित नभए पनि सरकारी सेवा सुविधा नियमित लिइरहेको स्रोतले दाबी गरेको छ ।

होमस्टेको लागि बनाइएको घर प्रयोग नै नगरी भत्किन लागेको छ । बिनाटेण्डर उक्त घरका छानामा प्रयोग भएका जस्तापाता जनप्रतिनिधिले आफ्ना नजिकका मान्छेलाई साधारण मूल्यमा बिक्री गरेका छन् । त्यसरी बिक्री गरिएको रकमको बारेमासमेत धेरै जना अनभिज्ञ देखिन्छन् ।

टिप्पणीहरू