चीन–भारतबीचको व्यापार : आत्मनिर्भर होइन,सँधै परनिर्भर

चीन–भारतबीचको व्यापार : आत्मनिर्भर होइन,सँधै परनिर्भर

‘भारत–चीन’ को मनमुटावसँगै भारतीय व्यापारमा अघिल्लो वर्ष सन् २०२१ मा ४३.३ प्रतिशतले अभूतपूर्व बृध्दि भएको छ । हालसम्म कूल व्यापार १ सय २६ अर्ब डलर पुगेको बताइन्छ ।

चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ को गत १४ जनवरीको समाचार अहिले विश्वभर चर्चाको विषय बनेको छ । टाइम्सका अनुसार दुई देशबीचको सम्बन्धमा देखिएको तनावसँगै ‘चिनियाँ बजार’ मा आफ्नो परनिर्भरता घटाउन नयाँदिल्ली असफल भएको छ ।

विश्वगुरू बन्ने अनेकौँ दाबी र अन्तर्राष्ट्रिय लगानीको चहलपहल भारतीय अर्थ बजारमा सोचेझैँ अघि बढेको छैन । ‘आत्मनिर्भर भारत’ को सट्टा अप्रत्यक्ष रुपमा मोदी शासनमा पनि भारत छिमेकी निर्भर भएको हो ।

भारतमा मोदीले राज्यसत्ता सम्हालेलगत्तै साना तथा मझौला उद्योगहरू घट्दै गएका छन् । गैर–प्रतिस्पर्धी बजारसमेत चिनियाँ व्यापारको चुनौती सामना गर्नुको सट्टा प्रत्यक्षरूपमा मलिन हुँदै गएको समाचार छ ।

“भारतीय औषधि उद्योगको ५० देखि ६० प्रतिशत केमिकल र अन्य वस्तु भारतले चीनबाट मात्रै आयात गर्ने गरेको छ ।”

टाइम्सका अनुसार सन् २०२१ मा भारत–चीनबीचको कूल व्यापार १ सय २५ अर्ब ६६ करोड डलर थियो, जुन अघिल्लो वर्षको तुलनामा ४३ दशमलव ३ प्रतिशतले बढी हो । चीनबाट भारतले गर्ने आयात सय अर्ब डलर नजिक पुगेको छ । यो पनि गत वर्षको तुलनामा ४६ दशमलव २ प्रतिशतले बढेको हो ।

भारतबाट चीनतर्फ २८ दशमलव १४ अर्ब डलर बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३४ दशमलव २ प्रतिशतले बढेको हो ।

भारतीय व्यापारको बृध्दिबारे दुवै देशको औद्योगिक श्रृंखलामा सहकारी पक्षको ठूलो भूमिका रहेको चिनियाँ विश्लेषकहरू बताउँछन् । जस्तै,भारतको प्रमुख उद्योग रहेको भारतीय औषधि उद्योगको ५० देखि ६० प्रतिशत केमिकल र अन्य वस्तु भारतले चीनबाट मात्रै आयात गर्ने गरेको छ ।

भारतीयहरूलाई थाहा छ कि देशमा सबैभन्दा बढी रासायनिक उद्योग गुजरातमा छ । उनीहरूले चिनियाँ उत्पादन बहिष्कारको नाराले भारतको निर्यात बढाउन होइन खुम्च्याउन मध्दत गर्ने विश्वास गर्छन् ।

क्षेत्रीय संगठनभन्दा बाहिर रहने भारतको पछिल्ला निर्णयलाई भारतीय जानकारहरू अव्यवहारिक ठान्छन् । यसबाट प्रतिस्पर्धी मूल्यका सामान प्राप्त गर्न थप कठिनाइ हुनेछ ।

त्यसो हुँदा अर्थतन्त्रका लागि आवश्यक सामग्री र लगानीको वातावरण भारतबाट भियतनाम, बंगलादेशजस्ता मुलुकमा सर्ने सम्भावनासमेत उत्तिकै रहेको औंल्याइएको छ ।

भाजपा मात्रै होइन विपक्षी दलहरूले पनि साना तथा मझौला उद्योगका आधारमा देशको अर्थतन्त्रलाई गतिशील बनाउने वैकल्पिक नीति प्रस्तुत गरेका छैनन् । मुम्बई, दिल्लीलगायत भारतका ठूला सहरका गल्लीमा आज पनि करोडौं बेरोजगार युवाहरू चिन्तित देखिन्छन् ।

‘भाजपा हटाओ,देश बचाओ’ को नारामा अड्किएका अन्य पार्टीहरू हालसम्म मोदी र भाजपाको विकल्प बन्न सकेका छैनन् । भारत चीनजस्तो ठोस आर्थिक मोडल अवलम्बन गरेको देशसँग छेउमा पनि पुग्न नसकेको भन्दै विश्लेषण गरिएको छ ।

टिप्पणीहरू