लुम्बिनीमा पनि गठवन्धनमा लफडा

लुम्बिनीमा पनि गठवन्धनमा लफडा

लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न सत्तारुढ नेपाली कांग्रेसले छलफल थालेको छ । गठवन्धन सरकार गठनकै बेला कांग्रेस र माओवादीबीच आधा-आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति भएकाले सोहीअनुसार हुनुपर्ने भन्दै कांग्रेसले नेतृत्व परिवर्तनको गृहकार्य थालेको हो ।

माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो । केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । कांग्रेस नेताहरूले अहिले आलोपालो सहमतिलाई कोट्याएर नेतृत्व परिवर्तन हुनुपर्ने बताउन थालेका छन् ।

आलोपालो सहमतिअनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले बताउनुभयो । ‘आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, सोहीअनुसार फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा स्पष्ट छौं’, उहाँले भन्नुभयो ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी आठ महिनामात्र मुख्यमन्त्री बन्ने सहमति छ । सहमतिअनुसार हुँदा केसी नेतृत्वको सरकारको आयु अब एक महिना मात्र बाँकी छ ।

सहमति कार्यान्वयन भए फागुनपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने चर्चा छ । तर मुख्यमन्त्रीले भने सरकार फेरिंदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा नरहेको उहाँनिकट नेताहरु बताउँछन् ।

‘नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं’, मुख्यमन्त्री केसी निकट एक नेताले भने ।

टिप्पणीहरू