पाँचथरमा स्वस्थ जीवनशैलीबारे अभिमुखीकरण

पाँचथरमा स्वस्थ जीवनशैलीबारे अभिमुखीकरण

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा स्वास्थ्य जीवनशैली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ नवमीडाँडामा वडास्तरीय नागरिक आरोग्य समूहलाई स्वस्थ जीवनशैली, योग एवम स्थानीय जडिबुटीको प्रयोग सम्बन्धी १ दिने अभिमुखीकरण तालिम दिइएको हो ।

स्थानीय नागरिकलाई आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न साथै नसर्ने रोगहरुको प्रकोपलाई न्यूनीकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यले नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीयस्तरमा पाइने जडिबुटीहरुको पहिचान, उपयोगिता, मात्रा प्रयोग, स्वस्थ जीवनशैली, सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोगअनुसार योगा र ध्यान सम्बन्धी छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा फाक्तेपले आयोजना सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समूहका प्रतिनिधिहरु, जननिर्वाचित प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायत २५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण फाल्गुनन्द गाउँपालिकाका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख वरिष्ठ कविराज, निरीक्षक राजु पराजुली, वैद्य प्रमोदकुमार यादव र सहजकर्ता बुद्ध सिंह कार्कीले गरेका थिए । कार्यक्रम फाल्गुनन्द १ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

टिप्पणीहरू