सशस्त्रको परेडमाथि कोरोनाको प्रभाव

सशस्त्रको परेडमाथि कोरोनाको प्रभाव

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा खट्दै आएको सशस्त्र प्रहरी बलले आन्तरिक गतिविधि संकुचित पारेको छ । संक्रमण सर्वत्र फैलिन थालेपछि सरकारी तथा निजी क्षेत्रहरुले आफ्ना सेवा बन्द गरिरहेका बेला सशस्त्रले पनि तालिमलगायतका बाह्य कार्यक्रमहरु स्थगित गरेको हो ।

कोरोना संक्रमण बढेको र सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाउने निर्णय गरेकाले तालिम लगायतका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच २१ औँ सशस्त्र प्रहरी दिवस पनि औपचारिकतामा सीमित हुने भएको छ । अघिल्ला वर्षहरु हजारौँको सहभागितामा उल्लासका रुपमा मनाइने गरिएको दिवश पर्सि माघ ९ गते यसपटक भने हलभित्र गर्ने तयारी छ ।

“महानिरीक्षकका रुपमा ८२ दिन कार्यकाल बाँकी रहेका शैलेन्द्र खनालको यो अन्तिम कार्यक्रम भएकाले भब्यताका साथ दिवस मनाउने तयारी थियो ।”

सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्दै बढीमा ५० जनाको उपस्थितिमा कार्यक्रम हुने बताइएको छ । परम्परा धान्नका लागि मात्रै कार्यक्रम गर्न लागेको सशस्त्रले बताएको छ ।

माघ ९ गते हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ । प्रधानमन्त्रीको सहभागिता रहने भएकाले कोरोनाको प्रोटोकल पूर्णरुपमा पालना हुने छ । सशस्त्रका अनुसार बिहान श्रद्धान्जली कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा सहिद परिवारको एक जना प्रतिनिधि सहभागी हुने र बाँकी अफिसरहरूको उपस्थिति रहनेछ ।

महानिरीक्षकका रुपमा ८२ दिन कार्यकाल बाँकी रहेका शैलेन्द्र खनालको यो अन्तिम कार्यक्रम भएकाले भब्यताका साथ दिवस मनाउने तयारी थियो । तर,एकाएक कोरोना संक्रमण बढेपछि कार्यक्रमको स्वरूप परिवर्तन गरिएको हो ।

यता,त्यस दिन परेडका लागि पुस माघको जाडोमा मातातीर्थ तालिम केन्द्रमा थुपारिएका सबै रिक्रुटलाई समेत फिर्ता पठाइएको छ ।

टिप्पणीहरू