बाघको टाउको चोर्ने समातिए

बाघको टाउको चोर्ने समातिए

राणाकालीन भवन केशरमहलबाट पुरातात्विक महत्वका दुईवटा तरबार र बाघको टाउको चोरीमा संलग्न दुईजना समातिएका छन् । केशरमहलबाट पुरातात्विक महत्वका सामग्री चोरेको अभियोगमा प्रहरीले त्यहीँ कार्यरत दुई जनालाई समातेको हो ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ का सुमन शर्मा र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ वीरबहादुर सुनार रहेका हुन् । चोरीमा संलग्न थप दुई जनाको पनि खोजी भइरहेको छ । उनीहरु गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा र देवेन्द्र केसी हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उक्त चोरी प्रकरण गत सोमबार मात्र बाहिर आएको हो । अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाएको छ ।

उनीहरुले केशर पुस्तकालयको ठूलो कोठामा राखिएका ती सामग्री चोरेका थिए । उनीहरुले पुरातात्विक र महत्वका ती सामान बोरामा राखेर फालेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

अभियुक्तहरुले गणेश श्रीपालीले आफ्नो स्कुटर केशरमहलमा राखेकाले लिन आउनु भनेपछि आफूहरु केशरमहल गएको उनीहरुको भनाइ छ । तर, सुरक्षागार्डले बोरामा राखिएको सामानबारे सोधपुछ गरेपछि स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा फालेर उनीहरु फरार भएका थिए ।

प्रहरीले उनीहरुको साथबाट तरबार राख्ने कलेजी रङको दाप एक थान, सेतो र कालो रङको धातुको बिँड भएको तरबार एक थान, बाघको टाउको एक थान, मोबाइल दुई थान, गोल्डस्टार जुत्ता एकजोर, स्कुटर एक थान बरामद गरेको छ ।

टिप्पणीहरू