सीके राउत र मन्त्री रेणुको टक्कर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई घेराबन्दी गरेर मार्ने चेतावनी दिएकी छन् । आज ‘बलिदान दिवस’ का अवसरमा रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा उनले विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।
उनले भनिन्, ‘तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ, यसअघि गौरको राइस मिलमा भएको झैं । म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्,चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।’
“तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्,चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।”
गौर नरसंहार ताजै रहेको उल्लेख गर्दै उनले भनिन्, ‘राइस मिल अहिले पनि जीवित छ,गौरमा फणा देखाउने प्रयास नगर, लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’ जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको,झूठा मुद्दा लगाइएको लगायतका मुद्दामा निरन्तर आन्दोलन गरिरहेको छ । उसले संघ र प्रदेश सरकारका मन्त्रीहरूलाई बहिष्कार गर्ने नीतिसमेत लिएको छ ।
आज पनि गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई केहीबेर लखेटेका थिए । सुरक्षाकर्मीको आडमा मन्त्री कार्यक्रमस्थलमा पुगेकी हुन् ।