पटक पटक कोरोनाको लहर, वैकल्पिक शिक्षामा कहरै कहर

पटक पटक कोरोनाको लहर, वैकल्पिक शिक्षामा कहरै कहर

कोरोना महामारीको तेस्रो लहर शुरु भएसँगै देशभरका विद्यालय बन्द छन् । महामारीको पहिलो तथा दोस्रो लहरमा सर्वाधिक प्रभावित बनेका विद्यालय तथा शिक्षण संस्थाहरु पुनः बन्दले गर्दा थप मर्कामा छन् ।

महामारीमा विद्यालय बन्द हुँदा वैकल्पिक सिकाई प्रणाली अवलम्वन गर्न सरकारले सुझाएको थियो । अनलाइनमार्फत् वैकल्पिक सिकाईका कार्यक्रम अधिकाँश विद्यालय तथा शिक्षण संस्थाहरुले अगाडि बढाएका छन् ।

तर,उक्त प्रणाली भने प्रभावकारी हुन नसकेको पहिलो र दोस्रो लहरमा गरिएको प्रयोगले छर्लङ्ग पारेको छ । अनलाइन प्रणालीमार्फत् भएको पठनपाठन प्रभावकारी नभएको शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको गुनासो छ । देशका ठूला तथा विकसित शहरमा समेत प्राविधिक त्रुटीका कारण अनलाइन शिक्षा प्रणालीको प्रभावकारिता कम देखिएको हो ।

पहिलो चरणको लकडाउनमा विद्युत, इन्टरनेट तथा अनलाइन शिक्षाका लागि चाहिने आवश्यक सामाग्रीहरुको पहुँच देशका ग्रामीण भेगमा अझै पर्याप्त छैनन् । दोस्रो लहरमा विद्युत तथा इन्टरनेट नहुँदा अनलाइन शिक्षा प्रभावित भएका कैयौं घटना बाहिर आएका थिए ।

यस्तै,अनलाइन कक्षामा सहभागी हुन रुखमा बासस्थान बनाउनुपर्ने, डाँडातिर टेलिफोनको टावर टिप्ने ठाउँमा धाउनुपर्ने, प्रविधिको सहज उपलब्धता नहुनेलगायतका बाध्यात्मक अवस्था झेल्नुपरेको थियो । यसपटक पनि माघ १५ गतेसम्मलाई विद्यालय बन्द गरिएको र चार दिन विद्यालय खोलेर विद्यार्थीहरुलाई खोप दिइने बताइएको छ ।

खोप कार्यक्रमपश्चात भने विद्यालय पुनः बन्द हुने संकेत छ । महामारी दिन प्रतिदिन दोब्बरले बढ्दै जाँदा वैकल्पिक शिक्षा भने जारी छ । तर, महामारीको तेस्रो लहरसम्म आइपुग्दा विद्युत,इन्टरनेट तथा प्रविधिको सरल र सहज पहुँच हुन नसकेका समाचार बग्रेल्ती सार्वजनिक भएका छन् ।

यसको ताजा उदाहरण लमजुङ हो । त्यहाँ विद्युत् आपूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित भएको छ । जिल्लामा कोरोना भाइरस संक्रमणबाट बच्न स्मार्ट लकडाउन लागु गरिएसँगै विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका छन् । तर,विद्युत आपूर्तिमा समस्या हुँदा कक्षा नै प्रभावित बनेको गुनासो विद्यार्थीहरुले गर्न थालेका छन् ।

विद्यालयहरूले कक्षा सञ्चालन गर्दै आएको बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको छ । लमजुङमा एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ गर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।

केन्द्रले पूर्व जानकारी दिएर विद्युत आपूर्ति बन्द गरेको बताएको छ । तर यसको प्रत्यक्ष असर शिक्षण संस्था तथा विद्यार्थीहरूमा परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन लमजुङका सचिव विमल अधिकारीले बताए ।

टिप्पणीहरू