विशेष अदालत पनि बन्द,न्याय निरुपण मन्द

विशेष अदालत पनि बन्द,न्याय निरुपण मन्द

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि विशेष अदालत, काठमाडौंले तत्कालका लागि सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँदै अदालतले आगामी १८ गतेसम्मको लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।

थुनामा भएकाको मुद्दाबाहेक अरु मुद्दा हालको लागि स्थगित गरिएको छ । विशेष अदालतले अत्यावश्यक बाहेकका सेवाको सुनुवाइ नगरिने आज जारी गरेको सूचना उल्लेख छ ।

यसबीचमा पेसी र तारिख दिने काम पनि नगर्ने बताइएको छ । साथै, साक्षी, बकपत्र, हाजिर हुन आउने एवम् वारिस अनुमतिलगायत निवेदन, पेसी, धरौटी फुक्का, फिर्ता र रोक्का, फैसला, आदेश, कागजात प्रमाणीकरण कार्य पनि रोकिएको छ ।

अदालत बन्द भएको बेलामा थुनामा रहेकाको मुद्दा भर्चुअल माध्यमबाट सुनुवाई हुने जनाइएको छ । अदालतका केही कर्मचारी, नियमित बहस पैरवीमा उपस्थित सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित भएकाले नियमित कार्य सञ्चालन गर्दा थप सरोकारवालामासमेत प्रत्यक्ष जोखिम रहेको अदालतको ठहर छ ।

टिप्पणीहरू