राष्ट्र बैंकमा संक्रमितको संख्या २ सय नाघ्यो

राष्ट्र बैंकमा संक्रमितको संख्या २ सय नाघ्यो

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा बग्रेल्ती कोरोना संक्रमित देखिएका छन् । पुस महिनामा गरिएको बेमौसमी तालिम,गोष्ठी र रिफ्रेसमेण्टका कारण अहिले कर्मचारी र तिनका परिवार संक्रमित भएका हुन् ।

बैंकको जनशक्ति व्यवस्थापन विभाग स्रोतका अनुसार आज बिहानसम्म कर्मचारी र तिनका परिवारलाईसमेत गरी दुई सय जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको आधारमा सबैभन्दा धेरै आन्तरिक लेखा परीक्षण विभागका कर्मचारीलाई कोरोना लागेको छ । विभागका झण्डै ५० प्रतिशत कर्मचारी संक्रमित भएको स्रोतले बताएको छ ।

‘महामारी र संक्रमणको जोखिम कायम रहेको बखत बैंकको उच्च प्रशासनले गत महिना हप्तैपिच्छे राजधानी वरपरका होटल र रेष्टुरेन्टमा आवासीय कार्यक्रम गरेको परिणाम अहिले देखियो,’ भन्दै एक जना कार्यकारी निर्देशकले भने,‘आगोमा घिउ थप्ने काम पुस २५ गतेदेखि ३० गतेसम्म पोखरामा गरिएको तीन दर्जन बढी कर्मचारी सहभागी तालिमले गरेको छ । तालिममा बिराटनगरदेखि धनगढीसम्मका कर्मचारी आएका थिए । उनीहरुले सबैतिर संक्रमण पुर्याउन मद्दत गरेको देखियो ।’

सरकारले संक्रमणको जोखिमलाई ध्यानमा राखेर सावधानीपूर्वक कार्यक्रम सञ्चालन गर्न भन्दै आए पनि तिहारपछि केन्द्रीय बैंकमा औपचारिक र अनौपचारिक कार्यक्रमहरु फुक्काफाल ढंगले भएका थिए । त्यसैको परिणामस्वरुप अहिले सयौं कर्मचारीमा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका कर्मचारीलाई रिपोर्ट नेगेटिभ नआएसम्म घर बस्न र पीसीआर परीक्षण गर्न पाइने सुविधा छ । तर एकै पटक धेरै कर्मचारी संक्रमित, अरु कन्ट्याक्ट ट्रेसिङमा परेपछि विशेषगरी अपरेशन विभागका काममा धेरै असर परेको उनै कार्यकारीले बताए ।

टिप्पणीहरू