सहायक सिडिओद्वारा अनुगमन तीव्र, व्यवसायीद्वारा २ दिन चितवन बन्द

सहायक सिडिओद्वारा अनुगमन तीव्र, व्यवसायीद्वारा २ दिन चितवन बन्द

लहरो तान्दा पहरो थर्कियो भनौं वा सानो माछा खोज्दा ठूलो माछा भेटियो । जेहोस्, प्रशासनको कदमले चितवनका किराना व्यवसायमा ठूलै हलचल मच्चिएको छ ।

भरतपुरको सप्तगण्डकी चोकस्थित एउटा किराना पसलले म्याद नाघेको बिस्कुट बेचिरहेको समाचार चितवनको मिडियामा प्रकाशित भएपछि संयुक्त बजार अनुगमन समितिबाट उक्त पसलको अनुगमन भएको थियो । सो क्रममा खरिद बिल माग्दा उसले नारायणगढको पुतलीबजारस्थित गोरखनाथ किराना स्टोर्सबाट सामान खरिद गरेको बताउँदै त्यहाँबाट बिल भनेर दिइएको कागजको टिपोट अनुगमन टोलीलाई दियो । सोही आधारमा अनुगमन टोलीले गोरखनाथ किराना स्टोर्सलाई तीन लाख रुपैयाँ जरिवाना गर्दा चितवनको किराना व्यवसायमा दुई दिन सन्नाटा छाएको हो ।

गोरखनाथ किराना स्टोर्समा गत शुक्रबार अनुगमन टोली पुग्दा सञ्चालक लक्ष्मी काप्री पसलमै थिइन् । संयुक्त बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले काप्रीकै अगाडि चितवन, मकवानपुर र पर्सा हेर्ने वाणिज्य कार्यालय, वीरगञ्जका प्रमुखलाई ह्याण्ड्स फ्रिमा फोन गरी ‘ग्राहकलाई सक्कली बिल नदिएर कागजको टिपोट दिने बिक्रेतालाई के कारबाही हुन्छ ?’ भनी सोधेका थिए ।

उताबाट तत्काल तीन लाख रुपैयाँ जरिवाना हुने बताइएपछि शर्माले गोरखनाथ किराना स्टोर्सलाई ठाउँको ठाउँ तीन लाख रुपैयाँ जरिवाना गर्दै आइतबार प्रशासन कार्यालयमा आउन निर्देशन दिएका थिए ।

त्यसपछि लक्ष्मीले किराना व्यवसायी संघ गुहारिन् । प्रशासनको उक्त कारवाहीको विरोध गर्दै गत आइतबार र सोमबार दुई दिन चितवनका किराना पसलहरु बन्द गरिए । ‘खरिदकर्ताले माग्दा सक्कली बिल नदिएको भए बिक्रेताको गल्ती हुन्थ्यो’, भन्दै किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले गोरखनाथको बचाउमा आफ्नै खालको तर कमजोर तर्क राखेका छन् ।
संघको आह्वानमा दुई दिन पसल बन्द गरेका व्यवसायी नै संघको कदम उचित नभएको बताउँछन् । ‘कर छली गर्न कागजको खोस्टामा हिसाब लेखेर दिने व्यवसायीलाई प्रशासनले जरिवाना गर्नु जायज नै त हो’, एक किराना व्यवसायीले भने, ‘संघले चोर माग राखेर प्रशासनको विरोध गरेको ठीक छैन । हामी आउँछौं भनेर गर्ने हो र अनुगमन ? प्रशासनले जुनसुकै बेला गर्न पाउँछ । व्यवसायीका प्रतिनिधिलाई पनि अनुगमनमा राखेपछि त पूर्वजानकारी पुगिहाल्छ नि ¤’

संघकै आडमा गोरखनाथ किराना स्टोर्सले अझैसम्म जरिवाना रकम भने तिरेको छैन । सात दिनसम्म अर्थात् भोलिसम्म पनि तोकिएको जरिवाना नतिरे पसल सिल गरेर आवश्यक कारबाही अगाडि बढाउने सहायक प्रजिअ शर्माले बताएका छन् ।

नारायणगढकै गणेश लक्ष्मी फ्रुट जुस हाउसबाट मूल्य नलेखिएको कारण जफत गरिएका प्रान कम्पनीका जुसहरुको विषयमा बुझ्दा उक्त पसलेले कहाँबाट खरिद गरेको हो ? त्यो बिल पेश गरेको शर्माले जानकारी गराए । उनका अनुसार उक्त हाउसले भरतपुर–९ को रुद्र मार्केटिङबाट ती जुस खरिद गरेको खुलेको छ । अब उसले पनि कहाँबाट खरिद गरेको हो ? त्यो खोजेर त्यसका सप्लायर्स तथा डिलरसम्मै पुगिने उनले प्रतिबद्धता जनाएका छन् ।

‘आयातको इजाजत दिने वाणिज्य विभाग हो, उसले इजाजत दिएको हो, होइन ? दिएको भए कसरी दिइयो, त्यो सबै खोज्छौं,’ सहायक प्रजिअ भन्छन्, ‘हामी कानुनले दिएको सम्पूर्ण अधिकार प्रयोग गरेर यसमा लागिपर्ने छाैं । कि अब प्रानका उत्पादन मूल्य प्रिण्ट भएरै आउँछ कि आयात नै रोकिन्छ ।’

– अजय गोर्खाली

टिप्पणीहरू