भीम रावलको जिल्लामा मतदाता बढे

भीम रावलको जिल्लामा मतदाता बढे

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सात हजार ४ सय ७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएका हुन् ।

पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी मतदाता संख्या एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार छ सय ८५ र पुरुष ७६ हजार तीन सय ३० छन् । यसअघि अछाममा एक लाख ४९ हजार छ सय १० मतदाता रहेको थिए ।

साउनदेखि पुस मसान्तसम्म नियमिततर्फ चार हजार चार सय ६२ र विशेष कार्यक्रमतर्फ दुई हजार नौ सय ४५ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयमा तीन सय ६०, जिल्ला प्रशासन कार्यालयमा तीन हजार छ सय ११ र इलाका प्रशासन कार्यालय विनायकमा चार सय ८२ जनाले नामावली दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालयले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । जसअनुसार मंसिर १७ देखि २६ गतेसम्म पाँचवटा पालिका र २८ देखि पुस ८ गतेसम्म चारवटा पालिका गरी जम्मा नौ वटा पालिकामा दुई चरणमा टोलीमार्फत् नामावली संकलन गरिएको थियो । मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन भएको हो ।

विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा नौ सय ८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा एक सय १६ मतदाता थपिएका हुन् । साँफेबगर नगरपालिकामा चार सय १२, रामारोशन गाउँपालिमा तीन सय चार, चौरपाटी गाउँपालिकामा दुई सय ४१, मेल्लेख गाउँपालिकामा दुई सय २८ र बान्नीगढी जयगढ गाउँपालिकमा दुई सय ५३ मतदाता थपिएका छन् ।

त्यस्तै, कमलजबार नगरपालिकामा दुई सय ४९ र ढकारी गाउँपालिकामा एक सय ५५ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

टिप्पणीहरू