​उनी अर्थात् हात नभएकी उत्कृष्ट कर्मचारी

भनिन्छ ‘हरेक चोटले ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौं, चिच्याउँछौं, ‘डिप्रेस’ हुन्छौं । तर, अरू तीनवटा खुला ‘द्वार’ देख्दैनौं । शुरुवाती दिन यस्तै थिए कष्टकर । ३७ वर्षअघि । सन्तान जन्मिँदा छरछिमेक मात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । विशेष खुशीयालीको माहोल छाउँथ्यो । तर, सुशिला ढकालको जन्मले घरमा खुशी आएन । बरु चिन्ता बढायो । कारण थियो– जन्मँदै दुवै हात नहुनु !

स्याङ्जाको मध्यमवर्गीय परिवार । तेस्रो सन्तानको रूपमा जन्मिएकी उनी बाँच्लिन् भन्ने आस परिवारलाई थिएन । तर, यी सब सोचको विपरीत स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । 

६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुबाले भर्ना गरिदिए । खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न थालिन् । तर, त्यो त्यति सहज थिएन । बेञ्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले फराकिलो टेबल बनाइदिनुभयो, खुट्टाकै औंलाले अरूले जस्तै लेख्न थालिन् । मिहिनेत गरिन् र अरूलाई भेट्टाएरै छाडिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । त्यहाँ पढ्दा इन्द्रेणी सपना देखेकी थिइनन् । समाजका सबै एकैनासका कहाँ हुन्छन् र ! कोही दयाका भावले हेर्थे त कोही मायालु आँखाले । आखिर दया–माया भन्ने चिज पनि आकाश–जमिन जत्तिकै रहेछ । केही भन्थे, ‘बिचरीलाई पूर्वजन्मको श्राप लागेछ ।’ मुटु चिमोट्ने यस्ता बज्र धेरैपटक कानमा बर्सिए । यद्यपि, आफूलाई सम्हाल्दै अगाडि बढिन् । इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन भनेझैं यस्ता शब्द बाणले ऊर्जा दिन्थ्यो, केही गर्नुपर्छ र केही बन्नुपर्छ भन्ने सोच थियो ।  दुबै हात नचले पनि रोकिएन अध्ययनको गति । गाउँबाटै एसएलसी उत्तीर्ण गरिन् । ०५५ सालमा एसएलसी पार लगाएपछि सदरमुकाम झरेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिइन् । सोधखोज भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेलकी तात्कालिन वार्डेन विष्णु थापाबाट । थापाले होस्टलमा राखेर पढाउने र सबै खर्च व्यहोर्ने वचन दिइन् । त्यसपछि त के चाहियो, मनको कुनामा साँचेर राखेको रहर थियो यो । उनी आफैं काठमाडौं भित्रिएर पढ्न चाहन्थिन् । तर, अजंगको पहाड बनेर उभिएको थियो आर्थिक अभाव । त्यही कारण मनका रहर गुम्साएर बसिरहेको अवस्थामा विष्णु ढुंगा खोज्दा देउता मिलेझैं प्रकट भइन् । पसिन् काठमाडांै र डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा आईए दोस्रो वर्षमा भर्ना भइन् । ०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यतिबेलै कम्प्युटर सिक्न थालिन् । बिए पढ्दै गर्दा नेपाल अपांग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घण्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनले स्नातकोत्तर पार गरिन् । दुवै हात नभएको मान्छे, निजी जागिर पाउने सम्भावना थिएन– लहडैलहडमा भिडिन् लोकसेवा आयोग– नायब सुब्बा तहमा । त्यो चुनौतीपूर्ण बाटो थियो । ०६५ सालमा लोकसेवाको परीक्षा दिएर अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य ५ जना प्रतिस्पर्धी थिए । सबैलाई पछि पार्दै नाम निस्कियो ।

०६६ वैशाख ९ मा नियुक्ति लिइन् । पहिलो पोस्टिङ आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुरमा काम गरिन् । त्यसपछि काजमा लाजिम्पाट सरुवा भइन् । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । कर संकलन शाखामा बस्छिन् । सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ । अफिसका सबै काम सफ्टवेयर बेस्ड हुन्छ । इन्टरनेटमा डाटा अपडेट गर्छिन् खुट्टाले । अहिले ठूला करदाता कार्यालय हरिहरभवनमा छिन् । यसरी निजामती सेवामै लागेको दशक व्यतित भइसकेको छ । दुवै हात नदेखेपछि यो कर्मचारीले के काम गर्ला र ? भनी नाक खुम्च्याएर हिँडेकाहरू काम नबनेपछि उनकै कोठामा ठोक्किन आइपुग्छन् । उनको काम गराइ, साहस र ऊर्जा देखेपछि भन्छन् पनि– हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तपाईंले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ । उनको सफलताको कथा पढेर पाँच वर्षअघि दल थापा खोज्दै पुगे । एउटै जिल्लावासी । पेशाले होस्टल व्यवसायी । शेयर बजारका कारोबारी । त्यहीँ चिनजान भयो । सम्पर्क बाक्लिन थाल्यो । सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर थाक्दैनथे । त्यहीबीचमा प्रेमको टुसा अंकुराउन थाल्यो । एक मनको नेटवर्क अर्काे मनसँग मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो । ०७० सालमा बाँधिए विवाह बन्धनमा । यिनै सुशीला एक लाख कर्मचारीको भीडबाट उत्कृष्ट ४०  निजामती कर्मचारी बन्न सफल भइन् र निजामती सेवा दिवशका अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको हातबाट सम्मानितसमेत भएकी छन् । 

– अञ्जना सुवेदी

टिप्पणीहरू