राष्ट्रपति,प्रधानमन्त्री र संवैधानिक प्रमुखहरुलाई बुस्टर डोज कहिले ?

राष्ट्रपति,प्रधानमन्त्री र संवैधानिक प्रमुखहरुलाई बुस्टर डोज कहिले ?

सरकारले कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै अस्तिदेखि फ्रन्टलाइनमा खटिएका सबैलाई कोरोनाविरुध्दको बुस्टर डोज लगाउन थालेको छ । हिजोदेखि अन्य सुरक्षाकर्मी र परिवारलाई पनि उक्त खोप उपलब्ध गराइएको छ ।

बुस्टर डोजको पहिलो खेप संक्रमण रोकथामको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै कर्मचारी,पत्रकार, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई लगाउने भनिएको छ । अघिल्लो वर्ष कोरोनाविरुध्द खोपको शुभारम्भपछि राष्ट्रपति,प्रधानमन्त्री,संवैधानिक अंगका प्रमुख,मन्त्री,सभासद र उच्चपदस्थ सरकारी कर्मचारीलाई लगाइएको थियो ।

तर अहिले बुस्टर डोजको सूचना सार्वजनिक भएसँगै उहाँहरुलाई खोप लगाइनेबारे केही खुलाइएको छैन । यसैबीच सरकारी मौज्दातबाट झण्डै २४ लाख डोज खोपको हिसाब किताब नमिलेको खबर बाहिरिएको छ । उक्त फेहरिस्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नै हिजो सार्वजनिक गरेका हुन् । तर, राज्यले सबै जिम्मेवारी लिएका राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधीश,सभामुख र राष्ट्रिय सभाका अध्यक्ष र सभासदलाई बुस्टर डोज लगाउनेबारे हालसम्म केही जानकारी दिइएको छैन ।

स्रोत भन्छ, ‘अधिकांश ठूलाबडाले यसअघि नै गोप्य तवरले बुस्टर डोज लगाइसकेका छन् । ठूलाबडाको आडमा उनीहरुका परिवार,सहयोगी र कतिपय नातेदारले समेत बुस्टर डोज भन्दै तेस्रो मात्राको खोप लगाएकाले अहिले खोपको हिसाब किताब नमिलेको हो ।’

कर्मचारीलाई बुस्टर डोज प्रदान गर्ने भनिएकाले मुख्यसचिव,सचिव र उच्चपदस्थ अधिकारीहरु सोही मापदण्डमा परेका छन् । तर, गत वर्ष सर्वसाधारणलाई खोप शुभारम्भसँगै उनीहरुले पनि खोप लगाएको समाचार बाहिरिएका थिए । यसपटक संवैधानिक अंगका प्रमुख तथा सदस्यहरु र उच्चपदस्थ कर्मचारीले बुस्टर डोज लगाएको खबर तीन दिन बितिसक्दा पनि बाहिरिएको छैन ।

स्रोत भन्छ, ‘अधिकांश ठूलाबडाले यसअघि नै गोप्य तवरले बुस्टर डोज लगाइसकेका छन् । ठूलाबडाको आडमा उनीहरुका परिवार,सहयोगी र कतिपय नातेदारले समेत बुस्टर डोज भन्दै तेस्रो मात्राको खोप लगाएकाले अहिले खोपको हिसाब किताब नमिलेको हो ।’

हिजो संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै सचिव पोखरेलले पहिलो र दोस्रो मात्रा खोप लगाइएका कतिपयलाई खोप कार्ड नै नदिइएको गैरजिम्मेवार धारणा राखेका थिए । त्यसैगरी कतिपयले पहिलो मात्रा भन्दै तेस्रो मात्रा लिइसकेकाले पनि २४ लाख मात्रा खोपको हिसाब गोलमाल भएको बताएका छन् ।

यी सबै घटनाक्रमले राज्यका उपल्ला तह र संवैधानिक जिम्मेवारीमा रहेकाहरुले बुस्टर डोज लगाएको दृश्यसहितको समाचार सार्वजनिक नगरेसम्म सर्वसाधारणले उनीहरुको भनाइमाथि विश्वास गर्ने अवस्था देखिँदैन । महामारीमा सर्वसाधारण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत अग्र पंक्तिमा खटिएर ज्यान जोखिममा राखेकालाई किनारा लगाउँदै गोप्य तवरले बुस्टर डोज लगाइएको सम्बन्धमा राज्यले स्पष्ट पार्नुपर्ने आवाज उठेको छ ।

टिप्पणीहरू