सार्वजनिक सवारी र रोग संक्रमणमा योगदान

सार्वजनिक सवारी र रोग संक्रमणमा योगदान

सार्वजनिक सवारी साधन अन्तर्गत बस, ट्याम्पु, माइक्रोबस आदिमा कोरोनाको मापदण्ड पालना भएको छैन । ट्याक्सीको हकमा भने यात्रु चारजनासहित ड्राइभर एक गरी जम्मा पाँच जना बोक्ने अनुमति छ । योचाहिँ कोरोना नभएको अवस्थामा हो । तर, ट्याक्सीले बच्चासहित सात जनासम्म बोकिरहेका छन् ।

कोरोना महामारी आएपछि पछाडि दुई जनामात्र राख्न पाइन्छ भने अगाडि चालकबाहेक अरु कोही पनि बस्न पाउँदैनन् । सफा ट्याम्पुले अहिले १५ जनासम्म यात्रु हालिरहेका छन् । सफा ट्याम्पुको बीचभागमा प्लास्टिक लगाउने भने पनि लागू भएको छैन । सफा ट्याम्पु चालकको छेउमा दुई जना यात्रु राखेर चलाइरहेका छन् । ग्यास ट्याम्पुको हाल पनि उही नै छ ।

यी सवारी साधनमा स्यानिटाइजर पनि राखिएको पाइँदैन । मापदण्डमा जम्मा आठ जना यात्रु राख्ने भनिएको छ । सरकारले माइक्रोबसलाई १३ जना यात्रु र एकजना चालकसहित चलाउन अनुमति दिएको छ ।

तर, माइक्रोबसमा यातायात व्यवसायीहरूले नक्कली सिट हालेर २५ जनासम्म यात्रु बोकिरहेका छन् । कोरोना काल आएपछि सरकारले एउटा सिटमा एक जना मात्र यात्रु राख्न, मास्क र स्यानिटाइजरको अनिवार्य पालना गर्न भनेको हो । मास्क नलगाई कुनै यात्रु आयो भने १० रुपैयाँ लिएर मास्क दिएपछि मात्र गाडीमा चढाउन भनिएको छ ।

यात्रुको तापक्रम थर्मल गनले नापेर मात्र यात्रा गराउनु भन्ने छ । एक ट्रिप यात्रा गराउनेबित्तिकै गाडीलाई डिस्इन्फेक्ट् गराउन निर्देशनसमेत दिइएको हो । सहचालक र चालकले अनिवार्य मुखमा मास्क र हातमा पञ्जा लगाउनुपर्ने नियम बनाइएको छ । बसहरूले २४ देखि २८ सिटसम्म यात्रु बोक्ने अनुमति पाएका छन् ।

एक ट्रिपमा जम्मा यति यात्रुलाई यात्रा गराउन पाउने भनेर बिलबुकमा लेखिएको हुन्छ । कोरोना आएपछि सरकारले एउटा सिटमा एक जना मात्र यात्रु राख्न पाउने भनेको छ । दुई जना पनि अनुमति दिएको छैन । तर, बसहरूले सिट क्षमताभन्दा तेब्बर यात्रु राखेका छन् ।

सार्वजनिक यातायातले लापरबाही देखाउँदा राजधानीमा भुसमा आगो सल्किएझैं कोरोना फैलिरहेको छ । लामो रोडमा चल्ने सवारीको पनि उही नै हाल छ । सामान ओसारपसार गर्ने ढुवानी गाडीहरूले पनि कोरोना फैलाइरहेका छन् । उपत्यकाबाट बाहिर जान लामो रुटका गाडीहरूको टिकट काउण्टरमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन ।

यता, सरकारले सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउने भनेर निर्णय गरेको छैन । अहिले पनि ट्राफिक जाम अस्तव्यस्त छ । त्यहाँबाट पनि कोरोना फैलिरहेको छ । अधिकांश भीडभाड हुने ठाँउ भनेको वित्तीय संस्था र सरकारी कार्यालय हो । माघ लागेसंगै शालीनदीमा स्वस्थानी मेला लागिरहेको छ । काभ्रेको पनौतीमा १२ वर्षे मेला छ । पशुपतिमा दर्शन गर्न आउनेको भीड उत्तिकै छ ।

टिप्पणीहरू