विदेश र नेपाली नर्सबारे हल्लै बढी

विदेश र नेपाली नर्सबारे हल्लै बढी

यतिखेर १० हजार नेपाली नर्स बेलायत आउने विषय चर्चाको शिखरमा छ । बेलायती र नेपाली अधिकारीहरूबीच पहिलो चरणको अनौपचारिक वार्तापछि यो विषय अझ बढी ’लाइमलाइट’ मा छ । कन्सल्टेन्सीलाई त व्यापार बढाउने मसला भइहाल्यो, नेपाली नर्सहरू समेत बेलायत आउन पाइने सपनामा छन् ।

रोजगारीका लागि स्वास्थ्य जनशक्ति ल्याउने विषयमा नेपाल र बेलायतबीच श्रम समझदारी हुने भएपछि अब यो हल्ला मात्र पनि रहेन । गत शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुई पक्षबीचको औपचारिक छलफलमा रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारी प्रदान गर्ने सहमति भएको थियो ।

रोजगार सम्झौताको अवधि पाँच वर्ष हुने र बेलायत आउने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको छ । बेलायतले दक्षिण एशियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्रयाउने घोषणा गर्दै नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने तयारी गरेको बताइएको छ । नेपाल नर्सिङ संघका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको संघको तथ्यांक छ । केही निजी अस्पतालमा कार्यरत छन् ।

बेलायत आएपछि नेपाली नर्सहरूले मासिक चार हजार पाउण्ड (वार्षिक ७५ लाख रुपैयाँ) सम्म तलब पाउन सक्छन् भन्ने हेडलाइन नेपाली मिडियामा अचेल यत्रतत्र छन् । के सोचेजस्तै छ बेलायतको अवस्था ? त्यति धेरै कमाउन सक्छन् त नर्सहरूले ?

नेपलिज नर्सिङ एसोसिएन यूकेकी अध्यक्ष तथा बेलायतको एक अस्पतालमा स्पेशलिष्ट नर्सका रुपमा कार्यरत सुनिता गौतम एनएचएसमा काम शुरु गर्नासाथ पाउने तलब वार्षिक करिब २५ हजार पाउण्ड जति हुने बताउँछिन् । एनएचएस नर्सहरू ब्याण्ड ५ तहबाट काम शुरु गर्छन् र त्यसपछि अनुभव र अध्ययनका आधारमा माथिल्लो तहमा बढुवा हुँदै जान्छन् ।

एनएचएस वेबसाइटमा ब्यान्ड ५ का लागि २५ हजार ६५५ पाउण्ड वार्षिक तलब हुने उल्लेख छ । लण्डनभित्र केन्द्र भागमा काम गर्नेले त्यसको २० प्रतिशत अतिरिक्त तलब पाउँछन् भने बाहिरी लण्डनमा काम गर्नेले १५ प्रतिशत अतिरिक्त तलब पाउँछन् । जसलाई हाइ कष्ट एरिया सप्लिमेन्ट (एचसीएएस) भनिन्छ । नेपालमा अहिले आम्दानीमात्र यति हुन्छ भनेर हल्ला गरिएको छ तर नर्सहरूले तिर्नुपर्ने करबारे कहीं उल्लेख भएको देखिन्न । बेलायतमा वर्षको १२ हजार ५७०

पाउण्डसम्मको कमाइमा आयकर लाग्दैन भने वर्षको १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्मको कमाइमा २० प्रतिशत आयकर लाग्छ ।

यस्तै नेशनल इन्स्योरेन्स मासिक ५२० पाउण्डदेखि ७९७ पाउण्ड आम्दानी हुनेले तिर्नु पर्दैन भने मासिक ७९७ पाउण्ड एक पेन्सदेखि ४ हजार १८९ पाउण्ड आम्दानी हुनेले १२ प्रतिशत तिर्नुपर्छ । त्यसमाथि आउने अप्रिल १ तारिखदेखि नेशनल इन्स्योरेन्स थप १.२५ प्रतिशत बढ्दैछ । त्यसबाहेक पेन्सनवापत पनि निश्चित प्रतिशत तिर्नुपर्ने हुन्छ । अहिले एनएचएसमा वार्षिक २१ हजार ४७८ पाउण्डदेखि २६ हजार ८२३ पाउण्ड ९९ पेन्स आम्दानी भएकाले ७.१ प्रतिशत पेन्सनवापत तिर्ने गरेका छन् । यसबाहेक लण्डनको दैनिक खर्च कति महँगो छ त्यो पनि कसैले उल्लेख गरेका छैनन् ।

लण्डनमा एक बेडरुम फ्ल्याटको मासिक भाडा १ हजार २७२ पाउण्ड, एक जनाका लागि मासिक खाना, मनोरञ्जनलगायत अन्य खर्च ८५९ पाउण्ड तथा यातायातमा मासिक १५८ पाउण्डसम्म खर्च लाग्छ । बेलायत आउन अंग्रेजी भाषामा पोख्त हुन आवश्यक छ । नेपाली नर्सहरूलाई आइएलटिएसमा प्रति व्याण्ड ७ स्कोर ल्याउन त्यति सहज नभएको सम्बन्धित क्षेत्रका विज्ञ बताउँछन् । नेपलिज नर्सिङ एशोसिएशन यूकेले नेपाली नर्स बेलायत आउने क्रममा दलालहरूले ठग्ने सम्भावना भएकाले सबैलाई सचेत रहन आग्रह गरेको छ । एशोसिएशनले दलालहरूलाई कत्ति पनि पैसा नतिर्नसमेत सचेत गराएको छ ।

टिप्पणीहरू