बेइमान सपनाको यथार्थ कुरा

बेइमान सपनाको यथार्थ कुरा

सिसाको बाकसमा तीन वटा बच्चाको टाउका । वरिपरि झिंगा भन्किएका । तैपनि, शिशुको मुहारको आभा गज्जबको थियो । भन्किएका झिंगा जति धपाए पनि ती शिशुका गालामा, ओंठमा, नाकमा बस्थ्यो । शरीर त थिएन । नत्र भने ती झिंगा शिशुकै सही छातीमा लडीबुडी खेल्थ्यो होला । खुट्टा–खुट्टा रगडेर ठूलो आवाज निकाल्यो । अनि शिशुहरूको मुन्टो बेस्सरी हल्लिन्थ्यो । शिशुहरूका ओंठ खुब चलमलाउँथ्यो । शिशुले मुख मिठ्याउँदै गर्दा झिंगाले हग्दिन्थ्यो । शिशु मुखमा मह परेजस्तै गरी मिठ्याउँथ्यो ।

शिशुको टाउको चल्मलायो । सायद गोडा चलाउँथ्यो होला, माथि नै भनें शिशुको शरीर थिएन । शरीर नै नभएपछि गोडा कहाँ हुनु र ? जोडले सिसाको बाकस हल्लाएँ । न झिंगा उड्यो, न शिशु चलमलायो । जति हल्लाए पनि झिंगाले शिशुका मुखमा आची गर्न छाडेन ।

झोंक चल्यो अनि सिसाको बाकस उचालेर जोडले थचारें, तर बाकस फुटेन । सिसाभित्रका शिशुहरू भित्रै रहे । अनि झिंगाको संख्या घट्नुको सट्टा निकै बढे ।

शरीरबिनाको शिशु बाँचिरहेको छ । यो त आश्चर्य नै हो । यो कसरी सम्भव हुन्थ्यो । यो असम्भव कुरा सपनामा मात्रै हुन्थ्यो । यो दृश्यले निकै ऐंठन भयो ।

झल्याँस्स ब्युँझिएँ । सिरानीमा भएको मोबाइलको स्क्रिन अन गरेँ । घडीले बिहानको साढे ३ मात्रै बजाएको रहेछ । अनेकौं तर्कना खेलेर त्यही रात साढे १२ बजेतिर मात्रै निदाएको थिएँ । साढे तीन घण्टाको सुताइमा शरीर नभएको शिशु देखियो । झिंगा भन्किएको । जीवित शिशुमा झिंगा † यो त सपनामै हुने कुरा हो ।

जिन्दगीमा कैयौं सपना देखियो । तर, कहिल्यै यस्तो सपना देखिएन । सपनामा देखिएको कुरा सुनाउन नजिक कोही थिएन । फोन गरेर कसलाई सुनाउनु, कसको निद्रा बिथोल्नु ! यता उता मडारिँदा मडारिँदा विहानको साढे पाँच बज्यो अनि धेरैतिर फोन गरें । धन्न कहीँ–कतै कुनै अप्रिय घटना सुन्नु परेन ।

त्यही खुशीमा निद्राले छप्पकै फेरि छोप्यो ।

एम्बुलेन्सको साइरन कानमै ठोक्कियो । एम्बुलेन्समा बृद्ध शरीर लडिरहेको थियो । कम्मरमुनिको सबै भाग भिजेको थियो । नजिकै पुगेको, दुर्गन्धले सासै फुलेर आयो । पूरै निस्सासिएर कसरी मुक्ति पाइएलाजस्तो भयो । नाक थुनेर कपडा फेरिदिएँ । त्यसको केहीबेरमै फेरि कपडा भिज्यो । सबै कपडा फेरिसक्दा पनि धर पाइएन ।

त्यत्तिखेरै आकाशवाणी भयो । ए मूर्ख, ठूला मानिसले लगाउन मिल्ने ड्राइपर पाइन्छ । अनि हावाको बेगमा दौडिएँ । कहाँ जाने कुनै टुंगो नभई । बेतोडले दौडिँदै थिएँ । पछाडिबाट कसैले बोलायो । ए भाइ, बालाई किन नांगै छाडेर हिंडेको ? छोप्ने कुरा खोज्नै भनेर हिँडेको हो । के गरौँ त ?

आकाशवाणीलाई नै फिक्का बनाउने गरी आएको आवाजले झसंग भएँ । बीच बाटोबाटै फर्किएँ । त्यही बेला कानैनेर ठूलो भूकम्प गयो, कम्पन आएतिर हात लगें । मोबाइलको भाइब्रेसन रहेछ । एचटीभी ड्राइभरकलिङ ।

सर, म कालिमाटी आइपुगें । १० मिनेटमा तयार हुनुहोला ।

कताको डाइपर, कताको के ? डाइपर खोज्न दौडिएको मान्छेलाई ड्राइभरको फोन आउनु, कार्यालय हिँड्ने बेलामा झपक्क निदाउनु । कस्तो अचम्म ।

त्यतिबेला फोन नआएको भए, म के गर्दो हुँ, नांगो शरीर छाड्थें होला कि ? ड्राइपरले छोप्थें हुँला । जे गर्थें गर्थें । ब्यँुझिएपछि भने कहिल्यै पनि यस्तो सपना नदेखौं भन्ने कामना गरेँ । हतार–हतार लुगा लगाएर कार्यालय दौडिएँ ।

– वैकुण्ठ ढकाल

टिप्पणीहरू