बाहिर लोकाचार भित्र अतिसार

हात्तीको जस्तो चपाउने दाँत एउटा, देखाउने अर्काे । गोपी मैनाली तिनै हुन् जो निजामती सेवामा मजस्तो इमानदार र घुस नखाने सचिव कोही छैन भन्छन् । आफूजस्तै सचिव हुने हो भने निजामती सेवा नै कायापलट हुने उद्घोष गर्छन् । तर, तिनका बोली एकातिर, व्यवहार अर्कैथरी पाइन्छ । 
विदेश शयरमा माहिर । पाएसम्मका अवसर छाड्दैनन् । उस्तै परे अधिकृत तहका कर्मचारीलाई निमन्त्रणा आए पनि टिपनटापन गरी कागज मिलाउँछन् र सपत्नी निस्किहाल्छन् । भूमिसुधार मन्त्रालयबाट केही महिनाअघि महालेखा नियन्त्रण कार्यालयमा खटाइए । कार्यसम्पादनमा उत्कृष्ट हुँदाहुँदै आफूलाई लखेटिएको भन्दै चित्त मात्र दुखाएनन्, अर्थ मन्त्रालयमा जुनियर सचिव राखेर आफूलाई मातहतको कार्यालयमा पठाइएको भन्दै गुनासो पोखी हिँडेका छन् । 

केही महिनाअघि दुबई, कायरो, अबुधाबी घुमेर फर्किसकेका छन् । केहीअघि सपत्नी श्रीलंका पुगे । त्यहाँ कर्जा सुरक्षणसम्बन्धी कार्यक्रम थियो । कर्जा सुरक्षण कोषको अध्यक्ष हुन्छन् महालेखा नियन्त्रक । सदस्यमा अर्थका सहसचिव थानेश्वर गौतम, कानुनका सहसचिव मानबहादुर अर्याल, राष्ट्र बैंकका पीताम्बर भण्डारी, उपेन्द्रकुमार पौडेल छन् । सदस्यसचिव विष्णुबाबु मिश्र हुन् । उनैलाई दबाब वा प्रभावमा पारी कोषको कार्यक्रममा कोषकै पैसाले श्रीमतीको नाममा समेत टिकट किन्न लगाएर श्रीलंका पुगेका हुन् । उनको सामाजिक सञ्जाल नियाल्ने हो भने सरकारी कोषको रकमले श्रीमती बोकेर इजिप्टको पिरामिड, सिनामंगल, आइल्याण्ड, भारतको आगरा, इण्डोनोसियाको बालीसम्म पुगेको देखिन्छ । स्वदेशका कुनै पनि कार्यक्रममा पनि श्रीमतीलाई लैजान छुटाउँदैनन् ।

यसअघि क्षेत्रीय प्रशासक भएर पोखरामा रहँदा सुरक्षा समितिको बैठकमा श्रीमतीलाई लिएर गएपछि आलोचित बनेका थिए । भूमिसुधार मन्त्रालयअन्तर्गत विभिन्न तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दा पनि श्रीमतीलाई सँगै लान्थे । हरेक सरकारी अफिसको पैसा निकासा दिने, चेक काट्ने, अकाउन्टिङ गरी सरकारलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारीप्राप्त निकायका प्रमुख विदेश भ्रमणमा मात्रै ¥याल चुहाउँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । एकातिर सरकारले वैदेशिक भ्रमण निर्देशिका बनाएको छ । सोको खिल्ली उडाउँदै विदेश भ्रमणमा श्रीमती बोकेर निस्कने उनै मैनाली सदाचारको उपदेश दिन पछि पर्दैनन् । यिनै सचिव निर्वाचन आयोगमा अयोधी यादवसहितका पदाधिकारीले गाडी र मोबाइल खरिद प्रकरणमा अनियमितता गरे भन्दै मिडियाबाजी गर्थे ।

टिप्पणीहरू