कोशी अस्पतालका ४ दर्जन कर्मचारी संक्रमित, सेवा प्रभावित

कोशी अस्पतालका ४ दर्जन कर्मचारी संक्रमित, सेवा प्रभावित

विराटनगरस्थित कोशी अस्पतालका ४७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो स्वास्थ्य परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । एउटै लटमा यति धेरै कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले यति धेरैमा कोरोना संक्रमण देखिएपछि नियमित स्वास्थ्य सेवा धान्न कठिनाइ भएको बताउनुभयो । अस्पतालको पूरै जनशक्ति संक्रमित भएपछि स्वास्थ्य सेवा सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।

‘अहिलेसम्म तानतुन गरेर सेवा सञ्चालन गरिरहेका छौं, तर कतिञ्जेललाई हो थाहा छैन्,’ उहाँले भन्नुभयो । कोशी अस्पतालमा कार्यरत आठ जना चिकित्सक, १७ जना स्वास्थ्यकर्मी र अन्य कर्मचारीसहित उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । हाल कोशी अस्पतालमा नियमित कोरोना परीक्षण भइरहेको छ । चिकित्सकहरु नै संक्रमित बनेपछि अस्पताललाई बिरामी जाँच्नसमेत धौ धौ परेको बताइएको छ ।

हिजो साँझसम्म अर्थोपेडिक वार्डमा कार्यरतहरूमा संख्यात्मक रूपमा बढी संक्रमित पाइएपछि सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा छ सयभन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।

टिप्पणीहरू