६ महिनाअघि बेपत्ता नेपालीको शव भेटियो

६ महिनाअघि बेपत्ता नेपालीको शव भेटियो

बेपत्ता भएको छ महिनापछि रोल्पाको त्रिवेणी गाउँपालिका–६, रिजाका ४५ वर्षीय ठाकुर नेपालीको कंगाल फेला परेको छ ।

छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर बेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकारेका थिए । तर शव भने महिनौंसम्म भेटिएको थिएन ।

त्रिवेणी–६ निम्टेखोलास्थित लौटेभीरदेखि तलको पाखोमा रुखमुनि मानवको जस्तो कंगाल (हड्डी) फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी जुगारको टोली घटनास्थलमा पुगेको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालय, होलेरीबाट प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीसहितको अनुसन्धान टोली खटिएको घटनास्थलमा मानवको जस्तो हड्डीहरु रहेको र कंगाल नजिकै हाफ पाइन्ट, कट्टु, टि–सर्ट, लाभा कम्पनीको मोबाइल सेट र टर्च लाइट फेला परेको हो ।

टर्च लाइट, मोबाइल सेट, कपडा देखेपछि मृतककी श्रीमती हिमा नेपालीले आफ्नो श्रीमान् भएको सनाखत गरेकी छन् । फेला परेको कंगालको परीक्षणको निम्ति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौं पठाउन लागिएको छ । प्रहरीले थप अनुसन्धान पनि अघि बढाएको छ ।

ठाकुर गत असार २३ गते साँझ ६ बजेको समयमा छिमेकी लोकेन्द्र खड्काको घरमा गएका थिए । त्यसपछि उनी बेपत्ता भएका हुन् । श्रीमान बेपत्ता भएपछि श्रीमती हिमाले प्रहरी चौकी जुगारमा खोजतलासको माग गर्दै असार २८ गते निवेदन हालेकी थिइन् ।

हिमाको जाहेरी र अनुसन्धानको क्रममा ठाकुर नेपालीलाई स्थानीय ३५ वर्षीय लोकेन्द्र खड्का, उनकी श्रीमती ४५ वर्षीया गौमाया घर्ति (खड्का) विरुद्ध व्यक्ति बेपत्तासम्बन्धी कसूरमा मुद्दा चलाइएको छ ।

रोल्पा जिल्ला अदालतको गत असार २९ गतेको आदेशअनुसार खड्कालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने श्रीमती गौमाया घर्ती ७५ हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् ।

टिप्पणीहरू