नवलपरासीमा सेटिङमा तस्करी मौलायो

नवलपरासीमा सेटिङमा तस्करी मौलायो

नवलपरासीमा पुनः सेटिङमा तस्करी मौलाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी उपरीक्षक (एसपी) मनोज यादवको मिलेमतोमा स्थानीय तोरी पेलेकाे खलिदेखि तेस्रो मुलुकबाट ल्याइएका सामान ‘इधर उधर’ गरिएको आरोप लागेको हो ।

पूर्वीनाका काकडभिट्टा,विराटनगर र वीरगञ्ज हुँदै नेपाल भित्र्याइएको हरियो केराउ भारतीय व्यापारीको मिलेमतोमा भारत पुर्याउन सजिलो मार्गको लागि नवलपरासी रोजिएको हो । वारी र पारी दुबैतर्फका तस्करहरुको मिलेमतोमा दशगजा क्षेत्रमा भण्डारण गरी एसपी यादवको सेटिङमा नवलपरासीबाट भारत पुर्याएको स्रोतको दाबी छ ।

हरियो केराउ नवलपरासीसँग सीमा जोडिएका सनही,गेर्मी, अमानिगञ्ज, महेशपुर, भुजुवा, पाँचपेडा, वासहिया, रामनगर, गुठी, पर्सरीलगायतका चोर नाकाबाट भारत पठाउने गरिएको छ । भारतमा हरियो केराउ विदेशबाट आयात गर्न नमिल्ने भएकाले सस्तोमा नेपाल ल्याइएको हरियो केराउ नेपाली अधिकारीहरुको सेटिङमा चोरी निकासीबाट भारत पठाउने गरिएको हो ।

विगतमा गोरुलगायत सबै प्रकारका तस्करीको निम्ति प्रयोग हुने ती नाका अहिले पनि तस्करहरुका लागि उर्वरभूमि देखिएको छ । भारतबाट भन्सार छलेर लत्ता कपडादेखि ठूलो मात्रामा चिनी र अन्य सामान पनि सेटिङमा तीनै नाकाबाट भित्र्याउने गरिएको छ । सीडीओ र प्रहरी प्रमुखको सेटिङमा तस्करी हुन थालेपछि नाकाका चौकी इञ्चार्ज पनि द्रव्यमोहमा विचरो बन्न बाध्य भएका हुन् ।

स्रोतका अनुसार सेटिङमा व्यापारीहरुसँग प्रतिलट ३० देखि ३५ लाखसम्म बुझबुझारथ हुने गरेको छ । यता जिल्ला दर रेट समितिमा समेत हावी हुने गरेको जिल्ला प्रशासनले विभिन्न प्रलोभनमा आँखा चिम्लिदा जिल्लाका विभिन्न स्थानबाट प्राकृतिक स्रोत र साधनको अवैध उत्खनन् पनि तीब्र भएको छ ।

टिप्पणीहरू