बोकोको होइन, बोको समाउनेको घाँटी रेटियो

बोकोको होइन, बोको समाउनेको घाँटी रेटियो

भारतको आन्ध्र प्रदेशमा पशु बलि दिने क्रममा एक युवकको ज्यान गएको छ । आइतबार स्थानीय युवकले पशुको सट्टा साथीको घाँटी रेटिदिएका हुन् । उक्त घटना आन्ध्रस्थित चित्तुर जिल्लाको वालासपल्ले–यल्लम्मामा भएको हो ।

मन्दिर परिसरमा बोका समातेका ३५ वर्षीय सुरेशलाई चालपथीले बोकाको सट्टा उनकै घाँटी रेटिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते सुरेशलाई नजिकैको सरकारी अस्पताल भर्ना गरिए पनि पछि मृत घोषणा गरिएको थियो ।

रक्सीले मातिएका बलि चढाउने चालपथीले पशुको सट्टा बोको समातेका सुरेशको घाँटी रेटेर हत्या गरेका हुन् । प्रहरीले अभियुक्तलाई पक्राउ गरी उनीविरुद्ध ज्यान मारेको मुद्दा दर्ता गरेको छ । मृतक सुरेश विवाहित हुन् । उनका दुई सन्तान छन् । अभियुक्तले सुरेशको घाँटी रेटेको समाचार बाहिर आएलगत्तै उक्त क्षेत्रमा कोलाहल मच्चिएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर उनलाई पक्रेको हो ।

हरेक वर्ष मकर संक्रान्तिको अवसरमा सो क्षेत्रका मानिसले स्थानीय यल्लम्मा मन्दिरमा पशु बलि चढाउने गर्छन् । यसपटक पनि स्थानीयले मन्दिर परिसरमा पालैपालो बलि दिइरहेका थिए । स्थानीय स्रोतकाअनुसार चालपथी र मृतक सुरेश पनि बोकाको बलि दिन मन्दिर पुगेका थिए । रक्सीको नशामा मातेर चलपथीले बोकाको सट्टा सुरेशको घाँटीमा खुकुरी प्रहार गरेका हुन् ।

टिप्पणीहरू