चोरी गर्दै हिँड्ने भारतीय गिरोह समातियो

चोरी गर्दै हिँड्ने भारतीय गिरोह समातियो

भीडभाडको मौका छोपेर चोरीडकैती गर्ने भारतीय महिलाहरुको गिरोह नै समातिएको छ । माघे संक्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भीडभाडको फाइदा उठाई उनीहरुले चोरी गर्ने गरेको खुलेको हो ।

देवस्थलमा आएका सर्वसाधारणले साथमा बोकेको नगद र लगाएका गरगहना चोरी गर्ने उद्देश्यले नेपालमा आएर चोरी कार्यमा संलग्न भारतीय महिलाहरु समातिएका हुन् । पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगानाकी प्रियङ्का देवी, अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी, आरोही भारती छन् । उनीहरुसँगै एक जना पुरुष पनि पक्राउ परेका छन् ।

शनिबार नारायणगढस्थित शहिदचोकको फुटपाथमा सामान किनिरहेका बसन्त गिरी र सीता गिरीलाई घेरा हालेर विभिन्न बहाना बनाई कुराकानीमा अल्झाएर उनीहरुले लुटपाट गरेका थिए । सीताले बोकेको झोलाको मनि ब्यागबाट छ हजार रुपैयाँ र ९४ हजार मूल्य बराबरको २ थान सुनको औंठी चोरी गरेका हुन् ।

भारतीय महिलाहरुले चोरी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले बताउनुभयो । नारायणगढको उक्त घटनापछ प्रहरी टोली खटाई भारतीय महिलाहरुको खोजतलास गर्दा चोरिएको सामान भेटिएको थियो । अहिले उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरुको साथबाट सुनको औंठी दुई थान, छ हजार रुपैयाँ र दुई थान एटिएम कार्ड बरामद भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुमाथि अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको समयमा हिजो पुनः भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने ७४ वर्षीया चन्द्रमाया श्रेष्ठले पनि आफ्नो सुन चोरी भएको उजुर हालेकी छन् । सोही दिन सात जना महिला मिली विभिन्न बहाना बनाएर दुई लाख रुपैयाँ बराबरको सुनको गहना चोरी भएको श्रेष्ठले उजुरीमा खुलाएकी छन् ।

टिप्पणीहरू