कोरोनाले सर्वोच्चलाई पनि खुम्च्यायो

कोरोनाले सर्वोच्चलाई पनि खुम्च्यायो

महामारी फैलँदै गएपछि सर्वोच्च अदालतले आफ्नो सेवा कटौती गर्ने भएको छ । सर्वाेच्चका न्यायाधीश, रजिष्ट्रारलगायत तीन दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सर्वाेच्चले भोलिदेखि माघ १८ गतेसम्मलाई सेवा कटौती गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षतामा आज बसेको फुल कोर्ट (पूर्ण इजलास) ले विभिन्न चार बुँदे निर्णय गरेको छ । आज सबै न्यायाधीशहरु आफ्नै च्याम्बरमा बसेर भर्चुअल माध्यमबाट पूर्ण बैठकमा सहभागी हुनुभएको थियो ।

आजको बैठकले भोलिदेखि माघ १८ गतेसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही र यसअघि हेर्दाहेर्दै वा निसुमा रहेका मुद्दाहरुको मात्र सुनुवाई हुने जनाइएको छ ।अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट दर्ता भएका र प्रत्यर्थी झिकाउने आदेश भएका मुद्दाको पनि सुनुवाई हुनेछ ।

यस्तै अत्यन्त जरूरी प्रकृतिका, जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको मात्र नियमित रूपमा सुनुवाइ हुने जनाइएको छ ।

अदालतले मुद्दा वा निवेदन दर्ता गर्ने, पेसी र अन्य तारेख दिने काम भने नियमित हुने उल्लेख गरेको छ ।

टिप्पणीहरू