महन्थ ठाकुर र राजेन्द्र महतोबीच ठाकठुक शुरु

महन्थ ठाकुर र राजेन्द्र महतोबीच ठाकठुक शुरु

पार्टी विभाजनको छ महिना नबित्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चर्किएको छ । पार्टीमा अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै राजेन्द्र महतोलगायतका नेताहरु असन्तुष्ट बनेपछि विवाद बढेको हो ।

हालै प्रदेश २ र प्रदेशका जिल्लाहरुमा अध्यक्ष तोक्दा ठाकुरले एक्लौटी गरेपछि विवादको शुरुवात भएको छ । ठाकुरले जितेन्द्र सोनाललाई प्रदेश २ को अध्यक्ष बनाउँदा पार्टीमा कुनै छलफल नगरेको असन्तुष्टहरुको आरोप छ । त्यस्तै, १७ जिल्लामा नेतृत्व चयन गर्दा ठाकुरले पेलेर एक्लौटी गरेको उनीहरुको गुनासो छ ।

ठाकुरले मनोमानी गरेको भन्दै महतोलगायतका नेताहरु आक्रोशित छन् । विवाद चर्किंदै जाँदा असन्तुष्ट खेमाका नेताहरु बबरमहलस्थित पार्टी कार्यालय जान छाडेका छन् । ठाकुरविरुद्ध महतोनिकट प्रदेश २ का नेताहरूले धर्नासमेत दिएका छन् ।

उपेन्द्र यादवबाट छुट्टिएर अलग्गै पार्टी स्थापना गरेपछि सामूहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्याउँदै ठाकुर पक्षले एकलौटी निर्णय गरेको आरोप महतोलगायतका नेताहरुको छ ।

‘सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाइएको छ । सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकिएको सुनिएको छ’, महतो निकट एक नेताले भने, ‘यसरी मनोमानी निर्णय गरेर पार्टी चल्दैन । हामी गलत निर्णय सच्याउन माग गर्छौँ ।’

नेता महतोले पनि ठाकुरले पेलेर निर्णय गरेको बताए । ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा । जे होस्, हामी मिलाउँदैछौं’, उनले भने ।

टिप्पणीहरू