आयल निगमको खाता रित्तियो

आयल निगमको खाता रित्तियो

नेपाल आयल निगमले आफ्नो सञ्चित बचत शुन्यमा झरेकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । भारतीय आयल निगमलाई यो महिनादेखि किनिएको तेलको रकम भुक्तानी गर्न झण्डै २ अर्ब रुपैयाँ अपुग हुने भएकाले ऋण लिनुपर्ने अवस्था आएको उसले जानकारी गराएको छ ।

‘अब निगमसँग सञ्चित बचत शुन्य अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेसनलाई आगामी २३ जनवरी, २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको छ ,’ आज जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको व्यवस्थापनका लागि निगमले ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी रकम प्रयोग गर्नु पर्ने स्थिति देखिएको छ ।’

आगामी दिनमा मूल्य केही समायोजन गरिए पनि महिनाको झण्डै ४ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । ‘आगामी तीन महिनाका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई थप १२ अर्ब रुपैयाँ आवश्यकता पछ,’ निगमले भनेको छ ।

पुस मसान्तम्म निगमले १९ अर्ब २६ करोड घाटा व्यहोरेको र माघ १ गते निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने बताइएको छ ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास प्रति सिलिण्डर ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ ।

टिप्पणीहरू