मास्क नलगाउनेलाई ललितपुरमा कारवाही थाल्ने

मास्क नलगाउनेलाई ललितपुरमा कारवाही थाल्ने

ललितपुरमा सार्वजनिक यातायातमा यात्रा गर्नेलाई आजबाट कडाइ थालिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले राति १२ बजेदेखि लागु हुने गरि सार्वजनिक यातायातमा कडाइ गर्ने निर्णय गरेको हो । कोरोना महामारीले तीव्र रुप लिँदा पनि सार्वजनिक यातायातमा लापरबाही देखेपछि प्रशासनले कडाइ गरेको हो । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्नेलाई पनि कारबाही गरिने बताइएको छ ।

सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न पुनः आग्रह गरिएको छ । चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँमा मास्क उपलब्ध गराउन प्रशासनले आदेश दिएको छ । मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश नदिन भनिएको छ ।

प्रशासनले सार्वजनिक यातायातमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न यसअघि नै आदेश जारी गरेको थियो । तर त्यसको नियमित अनुगमन भने हुन सकेको छैन । संक्रमण तीव्र भइरहँदा अहिले सार्वजनिक यातायातका साधनमा सिटभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।

टिप्पणीहरू