चुनावको मितिबारे पर्सि निर्णय हुन्छ : गुरुङ « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

चुनावको मितिबारे पर्सि निर्णय हुन्छ : गुरुङ

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार १३:५०


स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सत्तारुढ पाँचदलीय गठवन्धनमा सैध्दान्तिक सहमति जुटेको छ । आज बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेताहरु संविधानअनुसार स्थानीय तहको चुनाव गर्न तयार भएका हुन् ।

आजको बैठकले निर्वाचनको मिति तोक्नेबारे निर्णय गर्ने जिम्मा गठवन्धनका शीर्ष नेतालाई दिएको छ । पर्सि (बिहिवार) शीर्ष नेताबीच छलफल हुने र त्यसैका आधारमा सरकारले चुनावको मिति घोषणा गर्ने बैठकमा सहभागी समितिका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरुङले बताउनुभयो ।

आजको बैठकमा गठवन्धनका प्रमुख दुई दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकाले थप निर्णय हुन नसकेको उहाँको भनाइ छ । ‘आजको बैठकमा माधव नेपालजी र उपेन्द्रजी सहभागी हुन सक्नुभएन । उहाँहरुसहित बसेर शीर्ष नेताहरुले चुनावको मितिबारे निर्णय गर्नुहुन्छ’, नेता गुरुङले भन्नुभयो ।

‘संविधान र कानुनले व्यवस्था गरेअनुसार नै चुनाव गर्नपर्छ भन्ने छलफल भएको छ । तर कोरोना संक्रमण कस्तो हुन्छ त्यसले पनि निर्भर गर्छ।’

चुनावको मितिबारे ठोस निर्णय नभए पनि संविधान र कानुनी व्यवस्थाअनुसार नै चुनाव गराउनुपर्छ भन्नेमा भने सबै सहमत रहेको उहाँले बताउनुभयो । नेता गुरुङले कोरोना महामारीका कारण चुनावको मिति तलमाथि हुनसक्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान र कानुनले व्यवस्था गरेअनुसार नै चुनाव गर्नपर्छ भन्ने छलफल भएको छ । तर कोरोना संक्रमण कस्तो हुन्छ त्यसले पनि निर्भर गर्छ।’

कोरोना संक्रमण बढिरहेकाले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन कसरी गर्ने भन्नेबारे पनि आजको बैठकमा नेताहरुले छलफल गरेका थिए । संक्रमण तीब्र रुपमा बढेको अवस्थामा भौतिक दूरी कायम गराउने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गराएर मतदान गराउनेबारे छलफल भएको गुरुङले बताउनुभयो ।

यसअघि निर्वाचन आयोगले बैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेको थियो । आयोगले चुनावको मिति प्रस्ताव गरे पनि सरकारले निर्णय भने गरेको छैन । स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद २०७९ सालको जेठ ५ गते सकिंदै छ । कानूनअनुसार म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्ने हुन्छ ।

प्रमुख प्रतिपक्षी एमालेले पनि तोकिएकै समयमा निर्वाचन गर्न माग गरिरहेको छ । प्रमुख प्रतिपक्षलगायतका दलहरुको माग र निर्वाचन आयोगको प्रस्तावित मितिबारे समेत छलफल गर्न गठवन्धनको बैठक बसेको हो ।


प्रतिक्रिया दिनुहोस !