प्रधानमन्त्रीका पीए पनि कोरोना सँक्रमित

प्रधानमन्त्रीका पीए पनि कोरोना सँक्रमित

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कोरोना संक्रमणको हटस्पट बन्ने खतरा देखिएको छ । पछिल्लो समय संक्रमण तीब्र रुपमा फैलिरहेका बेला प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरु पनि धमाधम संक्रमित भैरहेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ४० जना कर्मचारीलाई कोरोना पुष्टि भएको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयका सदस्यमा पनि संक्रमण देखिएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई आज कोरोना पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना,रामप्रसाद थपलिया र कृष्णबहादुर रावतसहित थुप्रै कर्मचारीलाई कोरोना भएको थियो । त्यस्तै,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको थियो ।

सचिवालयका दर्जनौँ कर्मचारीलाई कोरोना लागेपनि प्रधानमन्त्री देउवालाई भने अहिलेसम्म संक्रमण देखिएको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सरकारका मन्त्री, विभिन्न दलका नेतालगायतलाई पनि संक्रमण भैसकेको छ ।

टिप्पणीहरू