प्रेम आलेलाई बदनाम गर्न झूठो समाचार लेखिएको दाबी

प्रेम आलेलाई बदनाम गर्न झूठो समाचार लेखिएको दाबी

लुम्बिनी विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई बदनाम गराउन कोषसँग जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । लुम्बिनीमा रिसोर्ट बनाउन लागिएको भन्दै केही दिनयता सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कोषले समाचारमा सत्यता नरहेको प्रष्ट पारेको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले जारी गरेको विज्ञप्तिमा मन्त्री आलेले चालेका लोकप्रिय कदमका कारण उहाँलाई बदनाम गर्ने उद्देश्यले लुम्बिनीसँग जोडेर समाचार बनाइएको भन्दै दुःख व्यक्त गरिएको छ ।

पछिल्लो समय व्यापारिक घराना बतास समूहलाई नारायणहिटी दरबार संग्रालयभित्र रेष्टुरेन्ट खोल्न दिने अघिल्लो सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको निर्णय सार्वजनिक गरेपछि मन्त्री आलेको लोकप्रियता चुलिएको छ । मन्त्री आलेको कदमले सामाजिक सञ्जालदेखि सबैतिर प्रशंसा पाइरहेका बेला लुम्बिनीमा रिसोर्ट निर्माण गर्न लागिएको भन्दै विभिन्न गलत समाचार सार्वजनिक भएपछि कोषले विज्ञप्ति जारी गरेको हो ।

कोषले उक्त समाचारको खण्डन गर्दै लुम्बिनीमा रिसोर्ट बनाउने निर्णयमा मन्त्री आलेको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी गुरुयोजनाभित्र रिसोर्टको कुनै संरचना बनाउने निर्णय भएको छैन ।’

‘लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको प्रतिवद्धताअनुसार त्यसभित्र पर्यटकको सुविधाका लागि क्याम्पेन गराउँदा निर्माण तथा सञ्चालनका लागि समसर्मा वेलनेस रिसोर्टको तर्फबाट सभाना वैद्य बस्न्यातबाट प्राप्त प्रस्तावअनुसार उक्त संस्थालाई गुरुयोजनाले निर्दिष्ट गरेअनुसार कार्य गर्न सञ्चालनको कार्यविधि, सम्झौताको सर्त र त्यसअघि बन्ने संरचनाको ड्रइङ स्वीकृतिको लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्र भएको र गुरुयोजनाभित्र कुनै रिसोर्टको संरचना बनाउने निर्णय छैन’, शाक्यले भनेका छन् ।

टिप्पणीहरू