चिसोले विकास निर्माणका काम ठप्प

चिसोले विकास निर्माणका काम ठप्प

हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणका काम ठप्प भएको छ । असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपात र चिसोका कारण रोकिएको हो ।

सामान ढुवानी नहुँदा निर्माण कार्य रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘असारको बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि काम प्रभावित भएको हो’, उनले भने ।

गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम प्रभावित भएको थियो । हिउँदमा हिमपातले सवारीसाधन आवतजावत रोकिँदा निर्माणका काम रोकिएको हो । सिडिओ आचार्यका अनुसार अनुसार हिमपातका कारण ल्याएर राखिएका सामग्री पनि हिमपातले जमेर काम नलाग्ने भएका छन् ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष मानाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ । तर, चिसो बढेपछि मंसिर अन्तिमबाट विकास निर्माणका काम सबै रोकिएका छन् ।

मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।

टिप्पणीहरू