हेर्दै नहेरी रक्सीमा ६० करोड स्वाहा « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

हेर्दै नहेरी रक्सीमा ६० करोड स्वाहा

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार १३:००


काठमाडौंको केशरमहल नजिकै कान्तिपथ र दरबारमार्गमा खोलिएको महँगो रक्सी पसलका कारण सात वटा बैंकको ६० करोड बढी रुपैयाँ फसेको छ । मुलुककै सर्वाधिक महँगो रक्सी पसलमा गनिएको ग्रिनलाइनलाई तँछाडमछाड लगानी गर्दा रक्सी पसलका मालिक अमित अग्रवाल भारततिर भास्सिएका छन् ।

अग्रवालले नेपाल इन्भेष्टमेण्टको सबैभन्दा बढी २९ करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् भने एभरेष्ट बैंकको २१ करोडभन्दा बढी । अरु पाँच वटा बैंकको पनि झण्डै १० करोड रुपैयाँ बराबरको कर्जा रकम फसेको छ ।

गोदाम र पसलभित्रको मौज्दात रक्सीलाई हेरेर कर्जा प्रवाह गरे पनि अहिले कान्तिपथको उक्त पसलभित्र मुश्किलले ५ करोड रुपैयाँको रक्सी रहेको अनुमान गरिएको छ । रक्सी देखाउँदै लिइएको कर्जा अग्रवालले घर, अपार्टमेण्ट र जग्गामा लगानी गरेको पाइएको छ ।

कर्जा लगानी गरेको एउटा बैंकका सीईओले भने, ‘मौज्दात र गुडविलको आधारमा हाइपोथिकेसन कर्जा दिइएको हो । अग्रवालको झण्डै छ ठाउँमा जग्गा भएको देखिएको छ । दुई चार वटा घर र अपार्टमेण्ट पनि रहेको बताइएको छ ।’

उनका अनुसार ग्रिनलाइनको व्यवसाय हेरेर सबै बैंक पहिले लोभमा फसेर लगानी गरेका थिए । बैंकले तछाँड मछाड गर्दा उनले धेरै कर्जा लिने मौका पाएको उनको दाबी छ । अग्रवालले पहिले डिस्टिलरी खोल्न लाइसेन्सको समेत प्रयास गरेका थिए ।

लाइसेन्स उपलब्ध गराउने नाममा सरकारी कर्मचारी र बिचौलियाले उनको धेरै पैसा झ्वाम पारिदिएको बताइन्छ । पछि लाइसेन्स पनि पाएनन् र कोरोनापछि लगानी गरिएको घरजग्गा र रक्सी व्यापार सबैतिर समस्या देखिएपछि उनी भारततिर भासिएको अनुमान गरिएको छ ।

रक्सीको व्यापारमा १० प्रतिशत मार्जिनबाट राम्र्र्रै प्रगती गरेका अग्रवालले धेरै कमाउन खोज्दा डुबेको भन्नेहरु पनि छन् । ‘१० प्रतिशत राम्रै मार्जिन थियो । दिनमा करोडौंको व्यापार हुन्थ्यो । राम्रै भइरहेको गिथो । रातारात ठूलो बन्न खोज्दा आफू पनि डुब्यो, अरुलाई पनि डुबाए,’ अग्रवाल निकट एक जनाले जनआस्थासँगको कुराकानीमा बताएका छन् ।

अग्रवाल भागेपछि लगानी गरेका सबै बैंकले ग्रिनलाइनको पसलभित्र रहेको रक्सीमा आँखा लगाएका छन् । तर त्यहाँ जम्मा पाँच करोड रुपैयाँभन्दा कमको रक्सी रहेको बताइन्छ । त्यहि पनि एकाध दिनमा प्रशासनको रोहबरमा लिलाम गर्ने तयारी गरिएको छ ।

मुलुककै १ नम्बरको रक्सी पसले भागेको थाहा पाउने बितिक्कै पसलभित्र रहेको रक्सी लिलाम बढाबढमा किन्नेहरुको घुईंचो लागेको छ । उनीहरुले ग्रिनलाइनमा लगानी गरेका सबै बैंकमा पहुँच पुर्याएर सस्तोमा रक्सी किन्ने उपाय रचेका हुन् । कतिपयले रक्सी किन्न बिचौलियासमेत प्रयोग गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !